झापा, भदौ २५ : झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो ।
कमल गाउँपालिका–६ मंगलबारे घर भएका पौडेलको शव मंगलबार बिहान गौरीगञ्ज–६ देवीगञ्जस्थित नेपाल–भारत सीमा नजिक भेटिएको थियो।
एक जना पक्राउ परेका छन् । पौडेलको हत्यामा संलग्न रहेको आशंकामा गौरीगञ्ज–६ का कपडा व्यापारी २८ वर्षीय सद्दाम हुसेनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।
पौडेलको घाँटी, छाती, पाखुरा गरी शरीरको विभिन्न भागमा गहिरो चोट रहेको प्रहरी निरीक्षक पौडेलले बताए। स्रोतका अनुसार पक्राउ पर्नेमा पौडेलका व्यवासयिक साझेदार श्रदाम हुसेन छन् । लेनदेनको विवादमा हुसेनले उनलाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।
प्रहरीका अनुसार व्यापारी पौडेल सोमबार बेलुकादेखि बेपत्ता थिए। सोमबार बेलुका ५ बजेतिर पसल बन्द गरेर श्रीमती दीपासँगै ग्राहकसँग पैसा उठाउन दमकबाट गौरीगञ्ज झरेका थिए।