झापाका ९ नदी नियन्त्रणका लागि चिनियाँ टोलीद्वारा अध्‍ययन शुरु

रिपोर्ट नेपाल | 2018 Jul 19 | 07:02 am 2129

काठमाडौँ, साउन ३: प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौता बमोजिम दमक झापाका ९ वटा नदीमा स्थायी तटबन्ध निर्माण गर्ने सम्झौताअनुसार चिनियाँ प्राविधिक टोलीले अध्ययन थालेको छ। वर्षातमा सबैभन्दा बढी क्षति पुर्‍याउने ९ वटा नदी रोकथामको दीर्घकालीन योजनाका लागि चिनियाँ र नेपाली प्राविधिक टोलीले बुधबारदेखि अध्ययन थालेका हुन्।

टोलीले पश्चिमी सीमा नदी मावाको स्थलगत अवलोकन तथा अध्ययन गर्‍यो । झापा र मोरङलाई सिमाना बनाएर बग्ने मावा नदीले जिल्लाको दमक नगरपालिका तथा मोरङतर्फ मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिकामा क्षति पुर्‍याउने गरेको छ ।

एक महिनाअघि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा प्रदेश १ का यी नदीमा दीर्घकालीन तटबन्ध गर्नेबारे सम्झौता भएको प्रधानमन्त्रीका स्वकीय सचिवालयले जनाएको छ।

नदी नियन्त्रणबारे अध्ययन गर्न ‘चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनी’ (सीसीसीसी) का दक्षिण एसिया क्षेत्रीय प्रबन्धक यावुको नेतृत्वमा ७ जनाको टोली खटिएको छ । उक्त टोलीमा जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियरद्वय अरबिन्दकुमार गुप्ता र विनय पौडेल छन् ।

यो टोलीले दुई साता लगाएर जिल्लाका ९ वटै नदीको स्थलगत अवलोकन तथा अध्ययन गर्नेछ । सम्झौताअनुसार चीन सरकारले जिल्लाका मावा, रतुवा, किस्ने, कमल–बनियानी, कन्काई, बिरिङ, हँडिया र निन्दा नदीमा स्थायी तटबन्ध गरिदिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.