झापा, साउन ११: जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित हनुमान सेन्ट्रल नामक बहुतले व्यापारिक भवनमा शनिबार साँझ ७ बजे आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले दिएकाे जानकारी अनुसार आगलागी भइरहेको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।
मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका छन् ।
आगो नियन्त्रणका लागि विर्तामोड, मेचीनगर र भद्रपुरबाट आएको दमकलले निभाउने कार्य गरिरहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए।
आगलागी कसरी र कुन तलाबाट भयो भनेर भन्ने एकीन जानकारी हुन नसकेकाे र आगलागी भएको भवनभित्र फसेका सबै मानिसलाई बाहिर सुरक्षित स्थानमा ल्याउने कार्य भइसकेको उनले जानकारी दिए । आगाे नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीकाे ठूलो सङ्ख्या परिचालित भएको छन् ।