ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा तोडफोड

रिपोर्ट नेपाल | 2020 Jun 03 | 12:49 pm 1791

रुकुम पश्चिम, जेठ २१ः मंगलबार जिल्लाकाे मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा तोडफोड भएको छ । उक्त ताेडफाेड १३ नम्बरका वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले बेलुकी ८ बजेतिर आक्रमण गरेको बुझिएकाे छ ।

जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै मोटरसाइकलमा आएका केसीले झगडा सुरु गरेका थिए । त्यसै क्रममा २०/२५ जना युवा आएर तोडफोड गरेका हुन् । स्थानीयका घरबाट बाँसका भाटा तथा अरू विभिन्न सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरिएको थियो ।

चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले कुर्सी, गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुंगामुढा भएको बताए । बुधबार बिहानदेखि चौकी सुनसान छ । प्रहरी डिउटीमा छैनन् । चौकी इन्चार्ज साउद उजुरी दर्ताका लागि भन्दै जिल्ला पुगेका छन् ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लीको संयुक्त टोली छिवाङ पुगेको थियो । प्रहरीले रातभर खोज्दा पनि वडाध्यक्षसहित आक्रमणमा संलग्न अन्यलाई भेटाउन सकेको छैन । वडाध्यक्ष केसीको मोबाइल स्विच अफ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीले चौकीका अधिकांश सामग्रीमा क्षति पुगेको बताए । उनकै कमान्डमा प्रहरी घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले चौकी तोडफोडमा संलग्न केसीसहित सबैको खोजी भइरहेको र उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइसकेको बताए । यसअघि पनि वडाध्यक्ष केसीलाई प्रहरीले पटकपटक सम्झाई–बुझाई पठाएको उनले जानकारी दिए ।

आफ्ना घरका सामग्री निकालेर चौकीमा आक्रमण हुन थालेपछि स्थानीयले विरोध गरेका थिए । त्यस क्रममा स्थानीयसित समेत भनाभन भएको थियो । मध्यपहाडी लोकमार्गमै पर्ने उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न भन्दै केही वर्षअघि मात्र प्रहरी चौकी राखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.