काठमाडौं, असाेज २६: निष्ठाको राजनीतिमा ‘खडेरी’ लागेको छ। दलहरूले राजनीतिक योगदानको अवमूल्यन गर्दै पहुँचवालालाई टिकट बाँड्न थालेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारीमा नातागोता, पैसावाल, ‘अति’ समर्थक, ‘अति’ निकटस्थहरू हाबी देखिएका छन्। दलीय पहुँच भएका उद्योगी÷व्यापारी, ठेकेदार, नेताका आफन्त, माफिया, बिचौलियाको बोलवाला बढेको छ।
सत्तामा पुग्न विचार, सिद्धान्त बिर्सिन्छन्। जस्तोसुकै सम्झौता गर्छन्। शक्तिको आडमा विधि प्रक्रिया मिच्ने प्रवृत्ति हावी छ। राजनीतिमा योगदान गरेका नेता, कार्यकर्ता छाडी दलीय नेतृत्वले व्यापारी, उद्योगी, ठेकेदारलाई च्याप्ने गरेका छन्। उनीहरूले नै पार्टी चलाइरहेको अवस्था छ। निष्ठावान इमान्दार नेता, कार्यकर्ता पाखा लगाइएका छन्। मुलुक दूषित राजनीतिक घनचक्करमा जकडिएको छ।
पैसा, पहुँच हुनेहरूले पार्टी फेरि–फेरि टिकट लिएका छन्। इमानदार नेता तथा कार्यकर्ता टिकटबाट बञ्चित भएका छन्। जेलनेल भोगेका, जनयुद्ध लडेका, संघर्षमा परिवार गुमाएकाहरूभन्दा शक्ति र पैसावालाको बोलवाला राजनीतिमा चल्न थालेको छ। जसकारण पार्टीका इमानदार, निष्ठावान नेताले बागी उम्मेदवारीसमेत दिएका छन्। कतिपय भने ‘तमासा’ हेरेर मौन बसेका छन्। पैसा र पहुँच नभएका नेता, कार्यकर्ता उपेक्षित भएका छन्।
राजनीतिक विश्लेषक डा. लोकराज बराल सिद्धान्त र निष्ठाको राजनीति हराउँदै गएको बताउँछन्। राजनीतिमा स्वेच्छाचारिता बढेका कारण पार्टीहरूमा भाँडभैलो भइरहेको उनको तर्क छ। ‘यहाँ कुर्सीका लागि जे पनि सम्झौता गर्न नेताहरू लागेका छन्। यहाँ समानुपातिक समावेशी नारा मात्रै छ। पार्टीको सिद्धान्त निष्ठा सबै हराउँदै गएको छ’, उनी भन्छन्, ‘यो सबै नेतृत्वको कमजोरीले नै भएको हो।’
पार्टीहरूमा केही नेताको दबदबा भएकै राजनीति बिग्रिएको उनी बताउँछन्। राजनीतिमा व्यापारीलाई प्रोत्साहन दिनु राम्रो नभएको उनको तर्क छ। पुराना राजनीतिज्ञ नीलाम्बर आचार्य सिद्धान्त र निष्ठाको राजनीति ओझेलमा परेको बताउँछन्। गठबन्धनका नाममा निष्ठा, सिद्धान्तको अबमूल्यन भएको उनको तर्क छ।
‘बिना निष्ठा, सिद्धान्तका गठबन्धन भएका छन्। हिजो जसलाई ठूलाठूला आरोप लगाइयो उसैसँग हात मिलाउँछन्। तर, सिद्धान्त र निष्ठा ?’ आचार्य भन्छन्।
उम्मेदवारी जनताको भावनाअनुसार नभएको उनी बताउँछन्। ‘जस्तो हुनुपर्ने हो, त्यस्तो भएको छैन। उम्मेदवार वितरणमा दुरुपयोग भएको छ। अझ समानुपातिकमा विकृति छ’, उनी भन्छन्, ‘मतदाताको अपेक्षाअनुसारको उमेदवारी नै छैन।’
काम गर्न सक्ने वा हिजो राम्रो काम गरेको त्यागीलाई टिकट दिएको भएको राम्रो हुने उनको भनाइ छ। उनका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी वितरणमा महिलाको प्रतिनिधित्व न्यून छ। चन्दा दिएको आधारमा उम्मेदवार बनाउने प्रवृत्ति गलत रहेको उनी बताउँछन्।
माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपाने यो व्यवस्थाकै खराबी भएको टिप्पणी गर्छन्। अहिलेको राजनीतिक व्यवस्था, निर्वाचन प्रणालीबाट धेरै अपेक्षा गर्ने ठाउँ नरहेको उनको ठम्याइ छ।
‘हामीले जुन व्यवस्था अगिंकार गरिरहेका छौं। जुन निर्वाचन प्रणालीलाई मापक बनाएका छौं। यो व्यवस्थाले तल्लो वर्गलाई समेट्छ भन्नु नै गलत हो। यो व्यवस्थाको चरित्र नै यस्तै हो। यसले यस्तै पात्र र चरित्रलाई खोज्छ’, न्यौपाने भन्छन्, ‘दुःख पाएका कार्यकर्ता, क्षमता भएका मानिस त यो व्यवस्थामा खोज्दै खोज्दैन। यसबाट धेरै अपेक्षा नगरौं। यो व्यवस्थामा अहिले जे भइरहेको त्यो पनि स्वाभाविक नै हो।’ यो व्यवस्था आदर्श मान्नेहरू नै मूल पार्टी भएकाले उनीहरूबाट ठूलो अपेक्षा राख्नु गलत भएको उनको तर्क छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट