जेसम साहित्य यात्रा भक्तपुरमा

रिपोर्ट नेपाल | 2018 Dec 16 | 11:03 am 2036

भक्तपुर, पुस १ : सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको कविता र अभिनय विशेष आकर्षक बनेको थियो । साहित्य यात्रालाई सम्बोधन गर्दै बस्नेतले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको अभियानमा भक्तपुर तीव्ररूपमा नमूना बन्ने गरी लागेको बताउँदै जेसमले यसमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

जेसम यात्राका क्रममा भक्तपुरमा सिर्जना गरिएका कविताको वाचन र चित्रको प्रदर्शनी गर्न सुझाव दिँदै त्यसमा आफूले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्ता कार्यमा लाग्न र सहयोग गर्न आयोजक र स्थानीय सरकारलाई बस्नेतले आग्रह गरे। उनले आफू पनि नाटक लेखन, अभिनय र कविता लेखनमा विगतमा सक्रिय रहेको स्मरण गरे।

कार्यक्रममा कवि फुलमान बल, सुरेश हाँचेकाली, अनन्त वाग्ले, पुष्करराज बुढाथोकी ‘साउँतेली’, रमेश कँडेल, अगिब बनेपाली, बालकृष्ण बस्नेत, सजनी नौवागे लगायतले गाम्चामै तत्काल कविता सिर्जना गरी वाचन गरे।

आधा दर्जनभन्दा बढी कलाकारले क्यानभासमा गाम्चा, यस आसपास र यहाँबाट देखिने प्राकृतिक छटाको चित्र उतारेका थिए । कलाकारहरूरु लालकाजी लामा, दीपेन्द्र बनेपाली, झलक केसी, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजापति, राजेन्द्र याकामी, सजनी नौबागे लगायतले क्यानभास विभिन्न प्राकृति दृश्यहरूलाई उतारेका थिए ।

कार्यक्रम संयोजक तथा कवयित्री अनिता लामाले जेसम साहित्य यात्रा सिर्जना, सौन्दर्य, सामथ्र्य, पहिचान र समृद्धिको एकमुष्ट यात्रा भएको बताउँदै मौलिक कला, संस्कृति, साहित्य र सुन्दर स्थानलाई उर्वर बनाउन यो यात्रा थालिएको चर्चा गरे। उनले धुलिखेलबाट शुरु भएको साहित्य यात्रा नगरकोट हुँदै गाम्चा आइपुगेको र आगामी दिनमा देशका विभिन्न भागमा पुग्ने बताउँदै जेसममा सहभागी हुन स्रष्टा र शुभचिन्तकलाई आग्रह गरे।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्षसमेत रहेका स्रष्टा बुढाथोकीले साहित्य र पत्रकारिता दुवै समाजको ऐना भएको बताउँदै दुवैको उद्देश्य समाज विकास, सुधार र लोकको हित नै भएको बताए।

यात्राका अभियन्ता पत्रकार, कवि बालकृष्ण बस्नेतले यात्राका माध्यमबाट सर्जकका सिर्जनाहरुलाई एकै ठाउँमा प्रस्तुत गर्नु आफँैमा सकारात्मक सन्देश भएको बताए। स्थानीयवासी सहदेव न्यौपानेको व्यवस्थापनमा भएको कार्यक्रममा युवा कलाकार, पत्रकार, साहित्यकार एवं सर्जकहरुले तीन महीना अघि सिर्जनात्मक यात्राको स्वतःस्फूर्तरूपमा इच्छुक सहभागी सबै यसको सदस्य रहने गरी शुभारम्भ गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.