कञ्चनपुर, मंसिर २५ : गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको दोषी अहिलेसम्म पत्ता लगाउन सकेको छैन। प्रमाण नष्ट गरेको अभियोगमा दुर्इ जना प्रहरीलार्इ पदमुक्त गरेको छ भने अन्य चार जना निलम्बनमा छन्।
यसबीचमा ९ जनाको डिएनए परिक्षण गरिएको छ भने एक सयभन्दा बढीलार्इ नियन्त्रणमा लिएर सोधपुछ भएको छ। दिलिपसिंह विष्ट र प्रदिप रावल र विशाल चौधरीले दोष स्वीकार गरेको बयान नै दिएका छन्।
प्रहरी अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै गएको छ। वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ ।
पछिल्लोपटक पक्राउ परेका विशाल र प्रदिपले पनि अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश्वास छ ।
पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफै ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन् गम्भीर हुँदै गईरहेको छ ।
त्यसैले डिएनए रिपोर्टविना प्रहरी औपचारिक रुपमा केही बोल्न मानेको छैन। अपराध स्वीकार गरे पनि डिएनए नमिलेमा उनीहरुलाई छाड्ने प्रहरी तयारी छ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।