जेलबाट छुटेका मेयरको स्वागतमा सार्वजनिक विदा

| 2018 Dec 30 | 08:06 am 2379

रौतहट, पुस १५ : जेलबाट छुटेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहालाई स्वागतका लागि नगरपालिकामा सार्वजनिक विदा घोषणा गरिएको छ।

गत बैसाखदेखि जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो। शनिबार दिउँसो उनी हेलिकप्टर चढेर आफ्नो नगरपालिका कटहरिया पुगेका थिए। उनको रिहाइको खुशीयालीमा नगरपालिकामा सार्वजनिक विदा घोषणा गरिएको हो। विदाको दिन शनिबार पत्र काट्‍दै आइतबार कुश्वाहाको रिहाइको खुशीयालीमा सार्वजनिक विदा घोषणा गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले काटेको पत्रमा भनिएको छ, ‘नगरपालिकाका सच्चा जनअभिभावकलाई सम्मानित सर्वोच्च अदालतले सफाई दिएको खुशीयालीमा आइतबार नगरपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु र सम्पूर्ण विद्यालयहरु विदा रहने व्यहोरा जानकारी गराइन्छ।’

सर्वोच्च अदालतका न्यायधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको ईजलासले शुक्रबार काशी तिवारी हत्याकाण्डको मुद्दामा मेयर कुश्वाहालाई सफाई दिएपछि उनी शनिबार गृहनगर कटहरिया पुगेका हुन्।

कटहरिया नगरपालिका–५ स्थित जनता उच्च माविको प्राङगणमा हेलिकप्टरबाट उत्रेका मेयर कुश्वाहा, नेकपाका प्रदेश २ का अध्यक्ष पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहलाई माला, खादा र दोसल्लाले स्वागत गरिएको थियो ।

झण्डै ९ महिनापछि आफ्ना अभिभावक पाएर खुसी भएका कटहरियाबासी मेयर कुश्वाहा र सांसद साहलाई ऐतिहासिक रुपमै स्वागत गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.