जेनेभामा ढकालको दाबी- ‘नेपालमा स्थिर सरकार, बन्यो लगानीको माहोल’

रिपोर्ट नेपाल | 2018 Jun 03 | 12:51 pm 3520

स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई नेपालका एकजना उद्योगपतिले सम्बोधन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सो सत्रलाई सम्बोधन गर्दै नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको सो सत्रमा उनले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरुतर्फ विश्वका लगानीकर्ताहरुको ध्यानाकर्षण गराएका छन् ।

नेपाल रोजगारदाता परिषदको अध्यक्ष समेत रहेका ढकालले नेपालमा पछिल्ला दिनमा राजनीतिक स्थिरताको माहोल विकसित भएको उल्लेख गर्दै देशमा रोजगारीका थप सम्भावनाहरुको वृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार तथा उत्पादकत्व र आर्थिक वृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको धारणा पनि सो सम्बोधनमा राखेका थिए ।

यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीका प्रवद्र्धन र नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसरहरु सृजना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि ढकालले बताए । आर्थिक वृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भन्दै उनले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्नबर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने धारणा पनि राखे ।

कुनै पनि देशमा र नेपालमा पनि श्रमिक र उनीहरुका संघ संगठनहरुको क्षमता अभिबृद्धि एक महत्वपूर्ण कार्य हो भन्दै औद्योगिक विकास, उत्पादकत्व बृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सृजनामा यसले सहयोग पु¥्याउने भन्दै यस्तो क्षमता अभिबृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको तर्क ढकालले अघि सारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.