मोरङ, कात्तिक २५ : जिल्लाको बूढीगङ्गा गाउँपालिका–१ गङ्गा चौकबाट प्रहरीले मोटो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई आज आईतबार बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले दिएको जानकारीअनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ती उद्योगपति पक्राउ परेका बताए ।
पक्राउ पर्नेहरुमा गोदाम घरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ बस्ने ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ बस्ने ५१ वर्षीय बिमल अग्रवाल र ३८ वर्षीय हंशराज जैन रहेका छन् । जुवाको खालबाट प्रहरीले एक लाख ९० हजार १ सय ४० र १७ बुक तास बरामद गरेको जानकारी दिएका छन् । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको बुझिएको छ ।