काठमाडौं, मंसिर १२: गत १० कात्तिकमा जुवाको खालबाट पक्राउ परेका प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका सेनानी (मेजर) राजेन्द्र शाही पुनः जिम्मेवारीमा फर्किएका छन् । शाहीमाथि लागेको मुद्दाको अन्तिम किनारा नलाग्दै जंगीअड्डाले जिम्मेवारीमा फर्काएको हो ।
महानगरीय प्रहरी प्रभाग, बसपार्कको टोलीले उनलाई सामाखुशीमा म्यारिज खेलिरहेका बेला पक्राउ गरेको थियो । जुवाखालबाट प्रहरीले एक लाख ५९ हजार ३ सय रुपैयाँ बरामद गरेको थियो ।
शाहीसहित घरधनी सोमबहादुर मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा पक्राउ परेका थिए ।
उनीहरुविरुद्ध जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा चलाइएको थियो । प्रशासनले शाहीलाई २० हजार धरौटीमा छाड्ने आदेश दिइएको हो ।