जुम्लामा यो वर्ष स्याउ उत्पादन बढ्याे

रिपोर्ट नेपाल | 2022 Nov 11 | 06:41 pm 1417

जुम्ला, कात्तिक २५ः स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये ९ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरुको भनाइ छ । व्यवसायीहरुले मौसममा प्रतिकेजी रु ५० देखि ५५ मा स्याउ खरिद गरी प्रतिकेजी रु ६७ देखि ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरु त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् ।

चन्दननाथ नगरपालिका– ८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौँसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे । ‘मैले प्रतिकेजी रु ५० मा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी रु ६० मा नेपालगञ्ज पुर्याएँ’, उनले भने, ‘तर प्रतिकेजी रु ३० मा बिक्री गर्न बाध्य भएँ ।’

कोहलपुरमा शीतभण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । नाम चलेको जुम्लाको अर्गानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले जनाए । जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ ।

यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्तले पनि जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको महत्व नबुझेको तातोपानी गाउँपालिका–२ जुम्लाका बीरेन्द्र डाँगीले बताए । मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीको भनाइ छ ।

सिञ्जा गाउँपालिका–१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगञ्ज पु¥याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीको भनाइ छ । उनले भने, ‘हामी नेपाली आफ्नो उत्पादनलाई हेला गरेर विषादी मिसाएका विदेशी वस्तुलाई चिल्लो देखेर त्यसैमा झुम्मिन्छौँ । यो नै हाम्रो ठूलो कमजोरी हो भन्ने अनुभूति भयो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.