जुम्लाबाट ३१ करोडको कृषिवस्तु निर्यात

रिपोर्ट नेपाल | 2021 Jul 14 | 08:21 am 2077

जम्ला, असार ३०ः जिल्ला कृषि विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा ३१ करोड रुपैयाँ बराबरको कृषिजन्य वस्तु जिल्लाबाहिर निर्यात भएको जनाएको छ। यहाँको उत्पादन काठमाडौं, सुर्खेत,नेपालगन्ज लगायत सहरमा निर्यात भएको हो।

जुम्लामा उत्पादित कृषिवस्तुको माग बढ्दो अवस्थामा रहेको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए। उनका अनुसार स्याउ,ओखर,आलु,प्याज,जुम्ली मार्सी धान,मार्सी चामल,सिमी र जौ जिल्लाबाहिर निर्यात भएको हो।

जुम्लाबाट १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्लाबाहिर निर्यात भएको छ। ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिक टन निर्यात भएको थियो। प्रतिकेजी ५० रुपैयाँको दरमा किसानले स्याउ बेचेका थिए। जुम्ला स्याउको राजधानी हो। ‘यहाँ स्याउको सम्भावना निकै राम्रो छ। स्याउ नै आर्थिक समृद्धिको आधार हो,’कृषि प्रमुख देवकोटाले भने,‘स्याउखेतीमा किसान आकर्षित भएका छन्।स्याउलाई जीवन ठानेर संरक्षण गरिरहेका छन्। यो समृद्ध जुम्ला बनाउने एउटा आधार नै हो।’

ओखर ५९० मेट्रिक टन उत्पादन भएकोमा ३२१ मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ। ओखरबाट एक करोड रुपैयाँ भित्रिएको छ। ओखर खेतीले यहाँका किसानको जीविकोपार्जनमा सहयोग पुगेको छ। कृषि प्रमुख देवकोटाले भने, ‘ओखर खेती पनि जुम्लामा राम्रो सम्भावना बोकेको क्षेत्र हो।’

आलु २७ हजार मेट्रिकटन उत्पादन भएको थियो। ११ हजार मेट्रिक टन जिल्लाबाहिर निर्यात भयो। ४ करोड ९५ लाख रुपैयाँ भित्रियो। प्रतिकेजी आलु ४५ रुपैयाँमा बिक्री भएको थियो।

प्याजबाट यो आर्थिक वर्षमा जुम्लामा एक करोड ५० हजार रुपैयाँ आम्दानी भएको छ। ३५५ मेट्रिक टन प्याज उत्पादन भएकोमा २०० मेट्रिक टन प्याज जिल्लाबाहिर निर्यात भएको थियो। संकटको समयमा यहाँको प्याजले राम्रै बजार पाएको किसान बताउँछन्। प्याज खरिद गर्न व्यापारी जुम्लाको गाउँगाउँमा पुगेका थिए। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.