जुम्ला, चैत ४ः जिल्लाको सिँजा गाउँपालिका ५ फाईचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ। यो क्षेत्र तत्कालीन शनिगाउँ गाविस भित्र पर्छ । भौगोलिक रुपमा निकै निकट मानिएको यो क्षेत्रका स्थानीयले असुरक्षाको अनुभूति गर्दै प्रहरी चौकीको माग गरेका थिए।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले प्रहरी चौकीको उद्घाटन गरिन्। उनले अब सुरक्षाको अनुभूति गर्नेमा विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘भौगोलिक विकटताका कारण यहाँका जनताले असुरक्षाको महसुस गरिरहेका थिए। गाउँघरमा हुने सबै प्रकारका घटना बाहिर आउन सक्दैनथ्ये। अब प्रहरी चौकी स्थापना भइसकेकोले सबै प्रकारका हिंसा अन्त्य गर्न स्थानीय र प्रहरीको प्रभावकारी साझेदारी हुनेछ।’
प्रमुख जिल्ला अधिकारी प्रसाईले प्रहरीलाई सहयोग गर्न आग्रह गरिन्। जहाँ सुरक्षा व्यवस्था राम्रो हुन्छ। त्यहाँ जनताले सुरक्षाको अनुभूति गर्छन्। ‘गाउँघरमा शान्ति स्थापना गर्न जनताको पनि महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भनिन्, ‘प्रहरी र जनता मिलेर शान्तिपूर्ण वातावरण बनाउनु होला। अब तपाईहरुको सुखदुःखको साथी प्रहरी हुनेछ।’
समाजमा घट्न सक्ने घटनाको समाधान अब प्रहरी चौकीमै हुने भएकोले जनताले शान्ति सुरक्षाको अनुभूति राम्रोसँग गर्न पाउने बताइन्। जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी नरेन्द्र चन्दले समाजका विकृति विसंगतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए।