रत्ननगर, माघ २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताएकी छन् । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उनले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” बताइन्।
“शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकाले शैक्षिक संस्था यसमा संवेदनशील बन्नुपर्छ ।” राष्ट्रपति भण्डारीले समाजप्रति सामुदायिक विद्यालयको गहन दायित्व रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको जिम्मेवारी रहेको विचार व्यक्त गरिन् ।
उनले गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गरिन् । राज्यले सार्वजनिक शिक्षामा गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको भन्दै राष्ट्रपति भण्डारीले मुलुकलाई अति कम विकसित राष्ट्रबाट कम आय भएको राष्ट्रमा विकसित गर्ने राष्ट्रिय लक्ष्य रहेको जानकारी गराइन् । उनले भनिन्, “बालबालिकालाई उच्चस्तरीय राष्ट्रिय भावनाबाट प्रेरित गर्न शिक्षा क्षेत्र सङ्कल्पित हुनुपर्छ ।”