जुम्ला चैत ६ः मुलुककै पहिलो कर्णाली प्राविधिक शिक्षालय पछिल्लो समय आर्थिक अभावले थलिएको छ। दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न स्थापित भएको कर्णाली प्राविधिक शिक्षालय आर्थिक संकटमा पुगेसँगै जीर्ण बन्दै गएकाे हाे।
२०३७ सालमा मुलुककै जेठो शिक्षालयका रूपमा स्थापित भएको यस शिक्षालय अहिले तीन तहकै सरकारको आँखामा पर्न सकेको छैन। स्थानीय तह र प्रदेश सरकार भने आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भन्दै पन्छिन खोजेका छन्। र संघीय सरकारको नजर शिक्षालय सम्म पुग्न सकेको छैन।
शिक्षालय प्रमुख टेकेन्द्र बहादुर थापाले सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न सकेको खण्डमा कर्णालीको प्राविधिक शिक्षाको हब बनाउन सकिने बताए। तर यसमा सरकारको ध्यान नपुगेका उनको गुनासो छ।
प्रमुख थापाका अनुसार कर्णालीकै प्राविधिक जनशक्ति उत्पादन गर्ने आधारशिलाको रूपमा रहेको शिक्षालय नै बजेट अभावले रन्थनिएको छ। पुराना बनेका भौतिक संरचना निकै जीर्ण भएका छन्।
हाल शिक्षालयका ५८ ओटा भवन छन्। ती भवनका छत, भित्ता, शौचालयदेखि अन्य भौतिक संरचना पनि निर्माण गर्नुपर्ने भए पनि बजेट अभावले समस्या भएको प्रमुख थापाले बताए।
भौतिक संरचना पुरानो भएकाले भूकम्प वा अन्य कुनै प्राकृतिक विपत्ति आएको खण्डमा भत्किन सक्ने उनको भनाइ छ।
कर्णाली प्राविधिक शिक्षालय जुम्ला चन्दननाथ नगरपालिकाको उत्तर भेगमाको घुघुत्ती भन्ने ठाउँमा अवस्थित छ। ६ सय ५२ रोपनी क्षेत्रफलभित्र रहेको शिक्षालय निकै उदेकलाग्दो बनेकाे छ।
शिक्षालय जुम्ला सदरमुकाम देखि ४० मिनेटको पैदल यात्रा दुरीमा रहेको छ। कर्णाली प्राविधिक शिक्षालयमा ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।