जीप दुर्घटना हुँदा दाङमा एकको मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2020 Jul 16 | 12:55 pm 2137

दाङ, साउन १ः बिहीबार बिहान घोराही सडक खण्डस्थित मुसोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुसीपुर उपमहानगरपालिका वडा नं १५ निवासी १६ वर्षीय पदम वली रहेका छन् ।

रा १ च ९६६२ नम्बरको बोलेरो जीप कपिलवस्तुको कृष्णनगरबाट दाङको तुल्सीपुरतर्फ आउँदै गर्दा अनियन्त्रित भई घोराही उपमहानगरपालिका वडा नं ३ मुसोटमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

उक्त दुर्घटनामा परी तुलसीपुर १५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएको डिएसपी खड्काले बताए । गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रहरीले बताएको छ । चालकको अवस्था भने सामान्य रहेको छ ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भइ भित्तामा ठोक्किएको थियो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.