जीटुजी मार्फत नेपालले भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने

रिपोर्ट नेपाल | 2021 Jun 04 | 07:58 am 2477

काठमाडाैं, जेठ २१ः सरकार–सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।

बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि आउँदो वर्ष जीटुजीमार्फत दुई लाख मेट्रिक टन मल ल्याउन लागेको हो । रासायनिक मल ल्याउनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले सम्झौता गर्न प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले मन्त्रिपरिषद्ले बजारमा मलको आपूर्ति व्यवस्था सहज पार्नका लागि स्वीकृति दिएकाले प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए ।

पहिलो प्राथमिकता टेन्डर प्रक्रिया भएकाले टेन्डरबाट मल नआउँदा अधिकतम २ लाख मेट्रिक टन जीटुजीमार्फत ल्याउने सैद्धान्तिक सहमति भएको उनको भनाइ छ । प्रतिवर्ष २ लाख मेट्रिक टन मल ल्याउने तयारी गरिएको उनले जानकारी दिए । यो वर्ष बंगलादेशबाट मल आएकाले पर्याप्त स्टक रहेकाले धान रोप्ने बेला बजारमा अभाव नहुने पनि उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेडले भारतमा तोकिएको कम्पनीमार्फत रासायनिक मल ल्याउने छ । टेन्डर प्रक्रियाबाट मल नआउँदा र बजारमा मलको अभाव भएपछि जीटुजीमार्फत मल ल्याउने हो । मल ल्याउनका लागि सरकार टु सरकार र दुई कम्पनीबीच दुई चरणमा सम्झौता हुने मन्त्रालयले जानकारी दिएको छ । जीटुजीमार्फत मल आयात गरेपछि मल खरिदमा हुने कमिसन स्वतः हट्ने र यसका कारण किसानले सस्तो मूल्यमा मल पाउने मन्त्रालयको भनाइ छ । कारेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.