जिल्ला सभापतिहरुलाई देउवाकाे चुनौती- ‘विशेष महाधिवेशन बोलाएर देखाउ’

रिपोर्ट नेपाल | 2019 Apr 04 | 02:54 pm 2043

विराटनगर, चैत्र २१ :  कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशन उद्घाटनका लागि बिहीबार विराटनगर आएका सभापति देउवाले जिल्ला सभापतिहरुको भेलाप्रति असन्तुष्टि जनाउँदै सभापतिको हैसियतमा आफूले विशेष महाधिवेशन नडाक्ने समेत प्रष्ट पारे ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले विशेष महाधिवेशन बोलाए आफू फेस गर्न तयार रहेको बताए । ‘पार्टीका असन्तुष्ट २०/२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ ? यदी सक्छन् भने बोलाएर दखाउन्,’ उनले भने, ‘विशेष महाधिवेशन पार्टीले बोलाउँदैन, तर उनीहरुले बोलाउन सके म फेस गर्न तयार छु ।’

सभापति देउवाले बाहिर भने जतिको जिल्ला सभापतिहरु विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरे । पार्टीको महाधिवेशन आइरहेकोले मात्रै आफ्नो विरोध गरिरहेको उनले सुनाए । उनले पार्टीभित्र धेरै जिल्ला सभापतिहरु असन्तुष्ट नरहेको दावी गर्दै भेला बोलाउने सभापतिहरुलाई सानो झुण्डको संज्ञा पनि दिए ।

गत फागुन १३ को केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा पार्टीको विधान परिमार्जन गर्ने निर्णय गरेको थियो। महासमिति बैठकको सुझावविपरित भएको भन्दै उक्त निर्णय तत्काल सच्याउनु पर्ने जिल्लाका सभापतिको जोडदार माग रहेको छ।

सभापति देउवाले न्यायाधीश नियुक्ति गर्ने अधिकार न्याय परिषदको भएको र न्याय परिषदले गर्ने निर्णय राजनीति भन्दा बाहिर हुनुपर्ने बताए । उनले न्यायाधीश नियुक्त भएपछि राजनीति गर्न नहुने र उनीहरुले राजनीतिज्ञबाट निर्देशित भएर काम गर्न नहुने जिकिर गरे ।  ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिकभन्दा बाहिर हुनुपर्छ,’ उनले भने, ‘न्याय परिषदले न्यायाधीस सिफारिसमा राजनीतीकरण गर्न गर्नु हुँदैन ।’

फरक प्रशंगमा देउवाले सरकारले जनताको अपेक्षा अनुसार नभइ मनोमानी ढंगले काम गरेको आरोप लगाएका छन्। संवैधानिक निकायको नियुक्तिप्रति असन्तुष्ट रहेका देउवाले भने, ‘सरकारले रत्तिभर सल्लाह गरेन, यदि आवश्यता नै पर्‍यो भने हामी आन्दोलन गर्न तयार छौं ।’ उनले सरकारका गलत कार्यको विरोध गर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.