कास्की, चैत ६: जिल्ला अदालत कास्कीका श्रेस्तेदार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले नियन्त्रणमा लिएको छ ।
नियन्त्रीत हुनेमा श्रेस्तेदार लोकनाथ पराजुली रहेको अख्तियार आयोगले जानकारी दिएको छ ।
उनलाई बुधबार राति मुद्दाका एक पक्षसँग ३० हजार घुस लिइरहेको अवस्थामा आयोगको टोलीले पोखरा–५ पर्स्याङस्थित एक पसलबाट पक्राउ गरेको हो ।
आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ ।
सुरुमा ५० हजार मागेका उनले छलफलका क्रममा ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ ।
श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताइएको छ ।