गुल्मी, बैशाख १ः प्युठानमा बुधबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । मृत्यु हनुेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्की रहेकाे प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार जिपमा १४ जना सवार थिए । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका ९ कर्मचारी र उनका परिवार सवार रहेको बताइएको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ४ जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।