जिप्रका बाराद्वारा सामान बरामद, फरार अभियुक्त पक्राउ र अवैध मदिरा भट्टी नष्ट

रिपोर्ट नेपाल | 2019 Aug 04 | 08:23 pm 2009

बारा, साउन १९:  ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न मिति र विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको छ ।

नेपालबाट भारत तर्फ लैजादै गरेका तथा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएका अनुमानित मुल्य १० लाख १८ हजार ७ सय बराबरको सामान रहेको बारा प्रहरीले जानकारी दिए ।

बरामद भएका सामानहरु विभिन्न रेडिमेड कपडा, किराना सामानहरु, सौफी, कस्तुरी (मदीरा) रहेको छ । उक्त मालसामान ओसारपसार गर्न प्रयोग गरिएका मोटर साईकल थान ११ र बलेरो थान १ समेत बरामद गरिएको हो ।

बरामद भएका मालसमानहरू भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज पठाईएको छ।

त्यस्तै चोरी मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ का २४ वर्षीय जयराम पासवान रहेका छन् । उनलाई बारा जिल्ला अदालतले २०७२ असार २७ गते नकबजनि चोरी मुद्दामा फैसला आदेशले कैदका लागि फरार रहेका थिए ।

उनलाई ईलाका प्रहरी सिमरा बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा २०७६ साउन १८ गते फेला पारी पक्राउ गरेको हो।

पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले उनलाई ठेकिएको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको छ ।

त्यसैगरी अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी पनि प्रहरीद्वारा नष्ट गरिएको छ । आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्र.नि. मोहनमान श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले भट्टी नष्ट गरिएको छ ।

बाराको फेटा गाउँपालिका वडा नम्बर १ स्थित दुधौरा खोला किनारमा अवैध रूपमा संचालन गरिएको अवैध मदिरा भट्टी र अन्दाजी २ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको हाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.