चितवन, साउन २: चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित आज दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
यसरी पक्राउ पर्नेमा पाल्पाको बगनास गाउँपालिका-३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका-६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएकाे छ।
मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले चेकजाँच गर्दा आज उनीहरु सालकसहित पक्राउ परेको सीआइबीले जनाएको छ।
पैदल हिडिँरहेका बेला प्रेमबहादुर थापाले पछाडि भिरेको झोलामा उक्त सालक फेला पारिएको हो। गोरखाको छेपेटार भन्ने स्थानबाट सालक ल्याई बेचबिखनको लागि काठमाडौँतर्फ लैजान लागेका बेला सालकसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।
सालक र पक्राउ मानिसहरुलाई आवश्यक कानूनी कारबाहीको लागि इलाका वन कार्यालय मुग्लिङमा राखिएको छ।