जावलाखेलमा हुने भयो पुष्पको प्रतिष्पर्धा

रिपोर्ट नेपाल | 2018 Oct 29 | 05:51 pm 3065

ललितपुर, कात्तिक १२ : नजिकिदै गरेको तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै जावलाखेलमा चार दिने गोदावरी पुष्प मेला लाग्ने भएको छ ।
यही १५ गते देखि १८ गतेसम्म आयोजना हुने प्रदर्शनीले पुष्प व्यवसाय प्रवर्धन गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउने लक्ष राखिएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मुल नारा सहित सुरु हुने प्रदर्शनीमा व्यवसायिक ४४, सूचनामूलक तीन र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी ९ सहित ५६ कक्ष रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले बताएको छ ।

फ्यानका अनुसार प्रदर्शनीको आयोजना प्रतिस्पर्धात्मक बनाई फूल व्यवसायलाई व्यापक बनाउने लक्ष रहेको बताइएको छ । प्रदर्शनीमा ४५ प्रजातिका फूल र विरुवाको प्रदर्शनीसहित बिक्री वितरण गरिने फ्यानका अध्यक्ष कुमार कसजुले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रदेश सरकार प्रदेश नम्बर ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा हुने उक्त मेलाअन्तर्गतको प्रतिस्पर्धामा गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने छ।

मेलामा ६० लाखको कारोबार हुने अनुमान गरिएको छ । नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले ११ करोडको फूल आयात गरेको थियो । तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात भएको अध्यक्ष कसजुले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.