काठमाडौं, असार १५: विश्वकपको समूह एचबाट समूह उपविजेताका रुपमा एशियाली टोली जापानले नकआउट चरणको यात्रा पक्का गरेको छ ।
रुसमा जारी २१औं संस्करणको विश्वकपमा ५ एशियाली टोलीले छनोट चरण पार गरेका थिए । जसमा साउदी अरव, इरान, दक्षिण कोरिया र अष्ट्रेलियाको यात्रा समूह चरणबाटै सकिँदा जापान नकआउट चरणमा जाने एकमात्र एशियाली टोली बनेको छ ।
रुसको भोल्गोग्राड एरिनामा जापानले विश्वकपबाट बाहिरिइसकेको पोल्याण्डसँग १-० गोलले पराजित भए पनि उसले समूह एचको उपविजेताको रुपमा प्रि क्वार्टरफाइनलमा स्थान बनायो ।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पोल्याण्डले गोल गरेको थियो । खेलको ५९औं मिनेटमा जन बेडनारिकले गरेको गोल नै पोल्याण्डको सान्त्वना जितमा निर्णायक बन्यो ।
पोल्याण्डसँग पराजित भए पनि जापानले समान ४ अंक रहेको सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुगेको हो । सेनेगल र जापानको समान ४ अंक र गोल अन्तर पनि बराबर भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो ।
समूह चरणका तीन खेलमा सेनेगलले ६ पहेलो कार्ड ब्यहोरेको थियो भने जापानले ४ पहेलो कार्ड खाएको थियो । विश्वकप इतिहासमै फेयर प्ले नतिजाका आधारमा अर्को चरणमा पुग्ने पहिलो टोली जापान बनेको छ ।
यसअघि पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा सेनेगलसँग २-२ गोलको बराबरी खेलेको थियो ।
सन् १९९८ मा विश्वकपमा डेब्यू गरेयता जापान हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको छ । लगातार छैटौं विश्वकप सहभागितामा जापानले तेस्रो पटक नकआउट चरणमा स्थान बनाएको छ । सन् २००२ मा आफ्नै घरमा भएको विश्वकपमा जापान नवौं भएको थियो । यो नै उसको विश्वकपमा सबैभन्दा उच्च नतिजा हो ।
जापानले क्वार्टरफाइनल प्रवेशका लागि समूह एचको विजेता (इंग्ल्याण्ड वा बेल्जियम)सँग प्रतिस्पर्धा गर्नेछ ।