जहाँ राष्ट्रियता खतरामा छ, त्यहीं राज्यको उपस्थिति छैन !

रिपोर्ट नेपाल | 2019 Nov 12 | 07:16 am 2269

दार्चुला, कात्तिक २६: भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि देशभर त्यसको विरोध भइरहेको छ। दार्चुलामा पर्ने सामरिक महत्वको उक्त त्रिदेशीय सीमाक्षेत्रमा भएको छिमेकीको हस्तक्षेपविरुद्ध नेपालीमा राष्ट्रिय एकताको भावना प्रदर्शन भइरहेको छ। यसरी देशभर राष्ट्रियता बलियो हुँदै गएको देखिए पनि दार्चुलाको सीमाक्षेत्रमा भने राज्यविहीनताको स्थिति छ।

जहाँ राष्ट्रियता खतरामा छ, त्यहीं राज्यको उपस्थिति नहुनु दुर्भाग्यपूर्ण भएको यस क्षेत्रका स्थानीय बताउँछन्। राज्यका कुनै निकायबिना पनि सीमामा आइपर्ने अनेकौं समस्याको सामना गर्दै आफूहरूले राष्ट्रियता जोगाउँदै आएको व्याँस गाउँपालिका–१ का स्थानीय बताउँछन्।

राजनीतिक रूपमा राज्य हुन चार आधारभूत तत्व भूगोल, जनसंख्या, सरकार र सम्प्रभुता आवश्यक पर्छ तर दार्चुलाको व्याँस क्षेत्रको हकमा परिस्थिति फरक छ। यहाँ भूगोल र जनसंख्या भए पनि सरकार र सम्प्रभुतामा भने प्रश्नचिह्न छ। व्याँस–१ मा सरकारको उपस्थिति नभएकैले सम्प्रभुतामा समेत खलल पुगेको त्यहाँका स्थानीयको बुझाइ छ।

व्याँस क्षेत्रमा आदिवासी जनजाति सौका समुदायको ग्रीष्मकालीन बसोबास हुन्छ। यहाँका स्थानीय ६ महिना सदरमुकाम खलंगा र ६ महिना व्याँसको छांगरु र तिंकरमा बसोबास गर्छन्।

नेपालतिर छैन बाटो, भारतीय प्रवेशपास लिन बाध्य

व्याँस क्षेत्रमा न त सुरक्षा निकायको उपस्थिति छ न अन्य सरकारी संयन्त्रको। स्थानीयलाई आफ्नै भूमि भएर खलंगा आउजाउ गर्ने बाटोसमेत त्यहाँ छैन। वैशाखमा व्याँस उक्लिएका सौकाहरू कात्तिक अन्तिम सातादेखि सदरमुकाम खलंगास्थित कुन्चामा बस्न थाल्छन्।

देशको सीमामा पिलर भएर बसेका हामीलाई आफ्नै भूमि भएर आउजाउ गर्नसमेत बाटो छैन, स्थानीय सन्तोष ऐतवालले भने, पञ्चायतकालमा नेपालतिर घोडेटो बाटो निर्माण भएको थियो, अहिले त्यो छैन। त्यसैले छांगरु पुग्न पनि भारतीय प्रशासनसँग पास लिनुपर्छ। नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.