जहाँ छन् अति कम मतदाता

| 2022 Nov 19 | 07:52 am 1065

गोरखा, मंसिर ३: प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभरका १ करोड ७९ लाख ८८ हजार ३ सय ८५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। त्यसका लागि आयोगले १० हजार ८ सय ९१ मतदान स्थल र २२ हजार २ सय २६ मतदान केन्द्र निर्धारण गरेको छ। कुल मतदातामध्ये सबैभन्दा धेरै मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाताले मतदान गर्दैछन् भने सबैभन्दा कम मनाङ जिल्लाबाट ६ हजार ७ सय ७९ ले मतदान गर्ने आयोगको तथ्यांक छ।

सबैभन्दा कम मतदाता मुस्ताङको बारा गुङ मुक्तिक्षेत्र गाउँपालिका—३ मा छ। यहाँको समर आधारभूत विद्यालय मतदानस्थलमा जम्मा ३४ जनाले मतदान गर्दैछन्। समरगाउँ सदरमुकाम जोमसोमबाट ४५ किलोमिटर पर छ। यहाँ पाँच जना कर्मचारी र पाँच जना सुरक्षाकर्मी परिचालित रहेको निर्वाचन कार्यालयले जनाएको छ।

डोल्पाको से–फोक्सुण्डो गाउँपालिका—६ को फोतगाउँस्थित वडा कार्यालय मतदान केन्द्रमा पनि ३४ जना मतदाता छन्। मुस्ताङकै बारा गुङ मुक्तिक्षेत्र—५ स्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा पनि जम्मा ३५ जना मतदाताले भोट हाल्दैछन्। बारा गुङ मुक्ति क्षेत्र ३ को घ्याकर मतदान केन्द्र पनि कम मतदाताले भोट हाल्नेमध्येको एक हो। यहाँ अरनिको आधारभूत विद्यालय केन्द्रमा जम्मा ६२ जनाले भोट हाल्दैछन्। सोही गाउँपालिका—१ लुप्रास्थित लुप्रा आधारभूत विद्यालय केन्द्रमा ६३ जना मतदाताले भोट हाल्दैछन्।

मुस्ताङकै लोमान्थाङ गाउँपालिका—२ सम्जुङस्थित सम्जुङ आधारभूत विद्यालय केन्द्रमा ६० जना मतदाता सहभागी हुँदैछन् भने लोघेकर गाउँपालिका—४ को आधारभूत विद्यालय मतदान केन्द्रमा ६८ जना मतदाताले मतदान गर्ने निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। घरपझोङ गाउँपालिका—१ स्थित छैरो आधारभूत विद्यालयमा पनि जम्मा ७४ जनाले मतदान गर्दैछन्।

सबैभन्दा कम मतदाता रहेको सूचीको दोस्रो नम्बरमा पर्ने मुस्ताङमा जम्मा १० हजार ९ सय ५७ मतदाता छन्। कम मतदाता रहेको जिल्लाको सूचीमा रहेको डोल्पाको से–फोक्सुण्डो गाउँपालिका—७ टासीसुम्दो आधारभूत विद्यालय कुगाउँ मतदान केन्द्रमा जम्मा ७९ जना मतदाताले भोट हाल्दैछन्। भारत र चीन दुवै देशको सिमानामा पर्ने ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका ७ को याङ्मा मतदान केन्द्र पनि थोरै मतदाता छन्। यहाँ जम्मा ६१ जना मतदाता छन्। वडा नं. ६ को ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्र पनि जम्मा ६७ जना मात्र मतदाता रहेको आयोगको अभिलेखमा उल्लेख छ। देशकै सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लामा पनि एक सय जनाभन्दा कम मतदाता  केन्द्र धेरै छन्। नार्पाभूमि गाउँपालिका—१ नारगाउँको वडा कार्यालय केन्द्रमा जम्मा ९६ जना मतदाता छन्।

नार्पाभूमि—४ स्थित फु आधारभूत विद्यालय केन्द्रमा ७८ जना र ५ को कार्यालय भवन मतदान केन्द्रमा जम्मा ७१ जना मतदाता सहभागी हुँदैछन्। सदरमुकाममा अवस्थित चामे गाउँपालिका—५ को कार्यालय भवन केन्द्रमा पनि जम्मा ९३ जना मतदाताले भोट हाल्दैछन्।

दोलखाको गौरीशंकर गाउँपालिका—९ स्थित वेदिङ प्रावि मतदान केन्द्र रोल्वालिङमा पनि ९७ जनाले मात्र मतदान गर्ने भएका छन्। हिमाली भेगमा पर्ने गोरखाको चुमनुब्री गाउँपालिकाका मतदान केन्द्रहरू पनि कम मतदाता भएको सूचीमा छन्। ४ को नाम्रुङ स्वास्थ्यचौकी केन्द्रबाट जम्मा ८३ जनाले भोट हाल्दैछन् भने १ को साम्दो आधारभूत विद्यालय केन्द्रबाट जम्मा ९८ जनाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.