जव बेपत्ताका परिवारलाई न्याय हुन्छ, तव मात्र मुलुकमा समृद्धि हुन्छ

रिपोर्ट नेपाल | 2018 Aug 31 | 06:32 am 1687

काठमाडौँ, भदौ १५: दश बर्षे जनयुद्धको बेलामा सरकार र विद्रोही पक्ष बाट बेपत्ता पारिएका आफन्तले आफूहरुलाई न्याय दिए मात्र देशमा समृद्धि हुने बताए ।
जनपीडित साझा चौतारी नेपालले ३५ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा बिहिबार आयोजित ‘वेपत्ता पारिएका पीडित परिवार र कानूनी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा आफन्तहरुले बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गरेर हामीहरुलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताएका छन् ।

साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले समृद्ध मुलुक बनाउने अभियान पूरा गर्नका लागि आफूहरुलाई न्याय दिनुपर्नेमा जोड दिदैं ‘‘हाम्रा कतिपय आफन्तहरुको अवस्था अझै अज्ञात रहेको छ, पीडितहरुको मनमा खुशी छैन, जबसम्म हामीले न्याय पाउँदैनौँ तबसम्म मुलुकमा समृद्धि र दिगो विकास हुन सक्दैन’’ भन्ने धरणा व्यक्त गरे ।

उक्त कार्यक्रममा ओखलढुङ्गाका एकराज वाग्लेको छोरा गोपीकृष्ण वाग्ले २०५६ साल भदौ २९ गते चितवनको टारीबाट बेपत्ता भएको र अझै अवस्था थाहा हुन नसकेको भन्दै आफ्नो छोराको अवस्थावारे जानकारी दिन सरकारसँग आग्रह गरे ।

राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी खरेलले बेपत्ताको स्थिति सार्वजनिक नहुँदा बेपत्ता परिवारको अवस्था दयनीय बन्दै गएको उल्लेख गर्दै सरकारले चाँडै नै बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

यसैगरी कार्यक्रममा १५ कलाकारले द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिको चित्र बनाएका थिए ।

सोही अवसरमा मण्डला थियटरमा बेपत्ता भएका व्यक्तिमा आधारित ‘खबर हराएको तिथि’ नामक नाटकसमेत मञ्चन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.