जवाफ दिन गएका प्रधानमन्त्री ओलीको प्रश्‍न: लोकतन्त्र जान्छ भने आउँछ के ?

| 2018 Jun 29 | 12:25 pm 3234

काठमाडौं, असार १५: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र स्थापित गर्ने सरकार रहेकोले लोकतन्‍त्रप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मुलुकको लोकतन्त्र स्थापनाका लागि नेपाली जनताले ठुलो संघर्क्ष गरेको बताउँदै ओलीले प्रश्‍न गरे, ‘लोकतन्त्र जान्छ कहाँ ? लोकतन्त्र जान्छ भने आउँछ के ? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले यसलाई पन्छाउन सक्छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र खतरामा छ’ भनेर जनतामा भ्रम नछर्न आग्रह गरेका छन् । साथै विपक्षीहरुतर्फ संकेत गर्दै उनले अधिनायकवाद आउँछ भन्नु थेगो मात्र भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताए ।

लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको वा अरुको पसिनाले आर्जेको होइन भन्दै उनले त्यसका लागि ४५/५० वर्षदेखि लागेका घाउका खतहरु अझै रहेको बताए ।

२०३६ सालको जनतन्त्र संग्रह ताका केटाकेटी रोयो भने पनि ‘चुप लाग चुप लाग, जनमत संग्रह भाँडिन्छ’ भन्ने गरिएको सुनाउँदै भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केटाकेटीलाई हाउगुजी देखाए जस्तो लोकतन्त्र जान्छ भनिएको छ । यसरी जनतामा भ्रम फैउलाउने कुरा देशका लागि हितकर छैन ।’

यस्तै बैठकमा ‘विनियोजन विधेयक, २०७५’ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसैगरी, अर्थमन्त्री डा युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७५ लाई पारित गरियोस्’ र ‘आर्थिक विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, ‘आर्थिक विधेयक, २०७५’ माथि दफाबार छलफलका लागि दिन तोकिनेछ भने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने र ‘ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यस्तै सांसदहरुले प्रस्तुत गरेको विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यक्रम पनि छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.