जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने

रिपोर्ट नेपाल | 2022 May 16 | 09:11 am 2149

कपिलवस्तु,  जेठ २ः प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ ।

दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल हुनेछ ।

वार्तामा शिक्षा तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणका निम्ति विकास सहायता, व्यापार सहजीकरण, पारस्परिक हित, सहकार्य र साझेदारी प्रवर्द्धनलाई प्रमुख रुपमा उठाइने परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले बताए ।

गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यस क्रममा भएका सहमति, तिनको समीक्षा एवं शीघ्र कार्यान्वयका निम्ति अवलम्बन गर्नुपर्ने उपायबारे विचार आदानप्रदान हुने भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले बताए ।

“शिक्षा, तालिम, सम्पर्क सञ्जाल विस्तार तथा सांस्कृतिक क्षेत्रमा साझेदारी बढाउने विषय नै वार्तामा प्राथमिकता साथ उठ्ने मैलै ठानेको छु”, उनले  भने ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा गृह, परराष्ट, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव, राजदूत शर्मालगायत रहनेछ भने प्रधानमन्त्री मोदी नेतृत्वको प्रमण्डलमा परराष्ट्र सचिव, परराष्ट्र मन्त्रालयका सहसचिवहरु र काठमाडौँस्थित भारतीय दूतावासका कार्यबाहक राजदूत नाम्ग्या खम्पा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.