पाल्पा, असार २३: ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले रामपुर नगरपालिका- ३ केलादी रजघरास्थित जनविकाश उच्च माबिमा सोही स्थानमा बसोबास गर्ने विभिन्न समुदायका महिला तथा पुरुषहरु समेत गरि १५० जनालार्इ जबरजस्ती करणी अपराध न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिएको छ।
नेपालको संविधान तथा संबिधान अन्तर्गत बनेका मुलुकी ऐन लगायतका प्रचलित कानूनमा व्यवस्था भएका कतिपय महिला तथा पीडित सम्बद्ध हक तथा कानूनी अधिकारको बारेमा जनमानसमा रहेको अज्ञानताको कारण जबरजस्ती करणी लगायतका विभिन्न खालका गम्भीर प्रकृतीका अपराधहरु घट्ने यथार्थतालाई ह्रदयंगम गरि प्रशिक्षण कार्यक्रम आयोजना गरेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।
प्रशिक्षणका क्रममा जबरजस्ती करणी अपराधको बारेमा प्रशिक्षण गर्नुका साथै के कारणबाट समाजमा यो घट्ने गर्दछ ? र यस अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न समाज तथा परिवार लगायत अन्य संस्थाहरु समेतले के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने बिषयहरुमा प्रशिक्षित गरिएको थियो । कार्यक्रममा स्थानीय वडाका वडाध्यक्ष लगायतका निर्वाचित जनप्रतिनिधि, विधालयका अध्यापक तथा अन्य विशिष्ट व्यक्तिहरु समेत सहभागिको रुपमा रहेका थिए।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले प्रमुख प्रशिक्षकको रुपमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए भने कार्यक्रमको आयोजना ईलाका प्रहरी कार्यालय रामपुर तथा प्रहरी चौकी केलादीले संयुक्त रुपमा गरेका थिए ।