काठमाडौं,भदाै १०: गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन खोलि दिएपछि खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका- २ का जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा तुइनको तार चुडिएपछि बेपत्ता भएका भएका आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिए।
बिहीबारै राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो। सिंहदरबारमा बसेको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी दोषीलाई कानुनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो। समितिले पीडितलाई क्षतिपूर्ति दिनसमेत निर्देशन गरेको थियो।
उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।