जमुनाह नाकास्थित दशगजा क्षेत्रको क्वारेन्टाइनमा रहेकाहरूद्वारा बसमा ताेडफाेड

रिपोर्ट नेपाल | 2020 Apr 17 | 01:56 pm 3824

 बाँके, बैशाख ५ः जिल्लाको जमुनाह नाकास्थित दशगजा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकले घर जान पाउनुपर्ने माग गर्दै बसमा तोडफोड गरेका छन् ।

पन्ध्र दिन क्वारेन्टाइनमा रहेका सबै जनाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आए पनि थप केही दिन क्वारेन्टाइनमै बस्नुपर्ने भएपछि उनीहरु आक्रोशित भएका हुन् ।

बिहीबार गरिएको स्वास्थ्य परीक्षणमा क्वारेन्टाइनमा रहेका १ सय ८१ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दशगजा क्षेत्रमा बस पुर्याएर सबैलाई घर पठाउने तयारी गरिरहेका बेला बाँके प्रशासन र गृहमन्त्रालयले उनीहरुलाई तत्काल घर पठाउन नमिल्ने भन्दै रोक लगाएको थियो ।

घर जाने तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेशअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले क्वारेन्टाइन नछोड्न निर्देशन दिएपछि क्वारेन्टाइनमा बस्दै आएका नागरिक आक्रोशित भएका थिए ।

उनीहरुले उपमहानगरपालिकाद्वारा क्वारेन्टाइन स्थलमा पुर्याएका तीन बसमा तोडफोड गरी ढोका र झ्यालको सिसा फुटाइदिएका छन् ।

गाडीमा तोडफोड गर्न लागेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका १ सय ८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा अस्थायी क्वारेन्टाइनमा राखिएको थियो ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.