लहान, पुस २०: जबर्जस्ती करणी र लेनदेन बिगो मुद्दामा फरार रहेका दुई महिलासहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका–३ निवासी २२ वर्षीय रवीन्द्र यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई सिरहा जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।
यस्तै लेनदेन बिगो मुद्दामा फरार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३८ वर्षीया अनिता देवी सहनी र सोही ठाउँकी ४० वर्षीया भक्ति खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
अवैध समानसहित दुई पक्राउ
प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु दुई लाख मूल्य बराबरको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा अवैध सामानसहित कल्याणपुर नगरपालिका–९ निवासी २४ वर्षीय सन्तोषकुमार यादव र बरियारपट्टी गाउँपालिका–३ निवासी २२ वर्षीय प्रमोदकुमार यादवलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले ३५४ थान लेडिज स्काफ, कालो मरीच १२५ किलो बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय नरहाले दुई टिन खाने तेल, २५ किलो पास्ता तथा प्रहरी चौकी औरहीले मोटरसाइकलसहित ८० लिटर नागाजी खाने तेललगायतका समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।