जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 14 | 08:37 am 2566

कास्की, कात्तिक २९ः विदेश पठाइदिने प्रलोभनमा पारेर दुई जना महिलालाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका–१ खेलसङका २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका–४ बगालेटोलकी ३० वर्षीया अन्जु गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–४ घर भएका २६ वर्षीय आशिष भुजेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार उनीहरूले दुई फरक-फरक जिल्लाका दुई जना महिलालाई वैदेशिक रोजगारीको लागि विदेश पठाइदिने र विदेश पठाउनको लागि आवश्यक पर्ने रकम समेत आफूहरूले नै उपलब्ध गराइदिने प्रलोभनमा पारेर पोखरामा ल्याई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको खुलेको प्रहरीले बताएको छ।

कात्तिक २६ गते पोखरा महानगरपालिका–६ लेकसाइड ल्याइएका महिलाहरूलाई वेश्यावृत्तिमा संलग्न गराउने उद्देश्यले कोठामा बन्धक बनाई राखेको, वेश्यावृत्तिका लागि मोलमोलाई गरिरहेको र उनीहरूलाई शारीरिक तथा मानसिक यातना दिइरहेको अवस्थामा अभियुक्तहरूलाई नियन्त्रणमा लिइएको डिएसपी हमालले जानकारी दिए।

उद्धार गरिएका दुवै जना महिलाहरूलाई मनोपरामर्शका लागि संरक्षण केन्द्रमा राखिएको छ। उनीहरूको आफन्तलाई बोलाएर जिम्मा लगाउने तयारी भइरहेको छ।

कात्तिक २६ मा पक्राउ परेका जीवन र आशिष तथा कात्तिक २७ मा पक्राउ परेकी अन्जुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर अन्तर्गत आठ दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको कास्की प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.