जनता आवास (बारा र पर्सा) पुनर्निर्माण कार्यक्रम समापन

रिपोर्ट नेपाल | 2019 Sep 04 | 07:55 pm 1824

काठमाडौं, १८: बारा र पर्सा जिल्लामा २०७५ चैत्र १७ गते आएको विनाशकारी हावाहुरीसहितको चक्रवत तथा असिना पानीका कारण धन जनको क्षति हुनाकासाथै स्थानीय घरहरुमा क्षति पुगेको थियो ।

विस्थापित भएका विपद् प्रभावितहरुको पुर्नस्थापना र घर पुननिर्माणको लागि नेपाली सेनालाई परिचालन गर्ने नेपाल सरकार मन्त्रिपरिषदको २०७५ चैत्र २१ गतेको निर्णय अनुसार २०७६ बैशाख २१ गते पुननिर्माण कार्यको शुभारम्भ गरिएको थियो ।

उक्त कामको बुधबार कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल सरकारका मन्त्रीहरु, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे तथा विभिन्‍न सरकारी निकायका उच्चपदस्थ व्यक्तित्वहरुको उपस्थितिमा प्रदेश नं २ का माननीय मुख्यमन्त्री लालबाबु राउतबाट सम्बन्धित महानगरपालिका, उप महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई निर्माण भएका घरहरुको प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै माननीय कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले आफ्नो गौरवपूर्ण परम्पराको निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्‍न गरेकोमा प्रधानमन्त्रीबाट प्रशंसा एवं धन्यवाद व्यक्त गर्नु भएको सन्देश सुनाएका थिए ।

सोही क्रममा पोख्रेलले नेपाली सेना र विशेष गरी जनता आवास पुननिर्माणमा खटिएका सबैलाई प्रशंसनीय ढंगले महत्वपूर्ण काम सम्पन्‍न गरेकोमा विशेष धन्यवाद व्यक्त गरे । समारोहमा उनले सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने बाहिनी र गणहरु तथा आपूर्तिकर्ताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।

उक्त कार्यक्रमको अवसरमा आफ्नो मन्तव्य राख्‍दै प्रधानसेनापति पूर्णचन्द्र थापाले “राष्ट्र सबैभन्दा पहिला” तथा “कर्तव्य सधै पहिला” भन्‍ने संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीलाई सम्पन्‍न गर्न नेपाली सेना सदैव प्रतिवद्व रहेको र यस किसिमका विपत्तीहरुमा नेपाली सेनाले भविष्यमा समेत आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढंगबाट सम्पन्‍न गर्ने प्रतिवद्वता जनाएका थिए ।

सम्वोधनकै क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विपद् प्रभावितहरुको पुर्नस्थापना र घर पुननिर्माण कार्यको लागि नेपाल सरकार र प्रधानमन्त्रीज्यूलाई विशेष धन्यवाद दिँदै नेपाली सेनाले मितव्ययीतालाई ध्यानमा राखी समयमा कार्य कुशलताका साथ निर्माण कार्य सम्पन्‍न गरेकोमा प्रधानसेनापति लगायत उक्त कार्यमा खटिएका सकलदर्जाको सराहना गर्दै धन्यवाद ज्ञापन व्यक्त गरे ।

नेपाल सरकारबाट प्राप्त भएका सबै किसिमका जिम्मेवारीहरु पूरा गर्न नेपाली सेना सदैव आफ्नो पेशागत क्षमता र दक्षताको पूर्ण रुपमा सदुपयोग गर्दै सुम्पिएका कार्यहरु स्तरयुक्त एवं विश्‍वसनीय ढंगबाट समयमा नै मितव्ययीताका साथ सम्पन्‍न गर्न सदैव तत्पर रहेको साथै त्यस्ता कार्यहरुबाट नागरिक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.