काठमाडौं, साउन २ : महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले बुधबार वडा नं. ३१ को सुकुम्बासी टोलमा अस्वस्थ्यकर घरेलु मदिरा उत्पादन गर्ने अवैध डिष्ट्रिलरीमा छापा हानेको छ ।
गरीब मजदुर प्राय यस्तैले पिउने घरेलु मदिरा बनाउने सामाग्री स्वास्थ्यको लागि हानिकारक रहेको पाइएको थियो । स्थानीय वरपरका वासिन्दाको विशेष अनुरोध र सुराकीका आधारमा प्रहरीले मदिरा बनाउने भट्टीमा एक्कसी छापा हानेको थियो ।

प्रहरी अप्रेसनका लागि पुग्दा अवैध मदिरा बनाउनेहरुले केहि क्षण अवरोध गर्न खोजेका थिए । प्रत्येक घरमा स्वास्थ्यलाई हानी गर्ने यूरिया मल देखि अन्य विषादी प्रयोग गरेर अन्न कुहाउने सामाग्री समेत प्रहरीले बरामद गरेको छ । वृतका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार स्वास्थ्यलाई सिधै हानी पुर्याउने सामाग्री प्रयोग गरेर बनाइएका यस्ता मदिराले तल्लो वर्गको स्वास्थ्यमा खराब आउने भएकोले छापा हानिएको हो ।
यति सम्मकि यूरीया देखि अन्य विषदी त प्रयोग गरेकै थिए मदिरा बनाउन बागमती नदीबाट पानी तानेर प्रयोग गरी अमानवीय काम गरेको प्रहरीको दावी छ । प्रहरीले छापा हानिएको ठाँउबाट तयारी मदिरा २ हजार ६ सय लिटर बरामद गरेको थियो ।
मदिरा बनाउने टहरामा खानतलासी गर्दा मदिरा बनाउन कुहाइएर राखिएको कच्चा पदार्थ ६ हजार लिटर बरामद भएको थियो । त्यस्तै सोही ठाँउबाट जाँड पाँच हजार लिटर बरामद भएको छ । जाँड बनाउन प्रयोग हुने कच्चा पदार्थ पाँच सय किलो भेट्टाइएको छ ।

मदिरा बनाउन प्रयोग गरीने अत्यन्तै कमसल सख्खर (भेली) चार सय केजी र यूरीयाको रेडिमेड चक्का तीस केजी बरामद भएका थियो । यी सबै सामाग्री स्थानीय समाजसेवी र संचारकर्मीको रोहवरमा नष्ट गरीएको छ ।
वृतका डिएसपी काफ्लेका अनुसार सर्वसाधारण जनताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कार्वाही गर्नुपर्ने थियो तर प्रहरी शासक होइन अर्काको समस्या बुझ्ने सेवक हो भन्ने सूचना प्रवाह गर्नका लागि एक पटकका लागि अन्य श्रम गरेर बाँच्नका लागि मदिरा बनाउने संचालकलाई सम्झाएर छाडिएको बताए ।

स्थानीय समाजसेवी अधिवक्ता गणेश केसीले आफूलाई गरीब भन्नेहरुले उनीहरु भन्दा कम आम्दानी हुने श्रमीकको स्वास्थ्यमा खेलवाड गरेकोले बानेश्वर प्रहरीले प्रशंसनीय काम गरेको बताए ।