काठमाडौं, भदाै ५ः आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले शनिबार पत्रकार सम्मेलन गरी भदौ १० गतेदेखि अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् ।
मुलुकका हरेक राजनीतिक परिवर्तनमा नेपाली कांग्रेस निर्णायक शक्ति भएको विगतको इतिहासलाई साक्षी राखेर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्नलागिएको उनले बताएका छन् । तीन चरणमा हुने अभियानको पहिलो चरण भदौ १० गतेदेखि शुरू गर्न लागिएको जनाइएको छ । पहिलो चरणको अभियान भदौ २४ गते बीपी जयन्तीका दिन समापन गरिने भएको छ ।
समानुपातिक उम्मेदवारी दर्तापछि दोस्रो चरणमा र प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि तेस्रो चरणको अभियान सञ्चालन गरिने प्रवक्ता महतले बताए । तीनै चरणमा जनताको घर–आँगनमा पुगेर जनभावना बुझ्ने र त्यही अनुसार विकास निर्माणका योजना लगिने उनको भनाइ छ ।
यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने भएको छ । यससँगै सातै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरूप प्रतिनिधि खटाउने व्यवस्था गरिएको महतले जानकारी दिए ।
निर्वाचनमा नेपाली कांग्रेसको सफलताका लागि आयोजना गरिने यस अभियानमा अभियन्ताहरुले जनताका कडा प्रश्नहरुको सामना गर्नुपर्ने राजनीतिक समीक्षकहरुको धारणा छ । पछिल्लो पटक केपी ओलीको नेतृत्वमा रहेको दुई तिहाइ निकटको सरकारले असफलताको सामना गरेजस्तै नेकाले इतिहासमा दलभित्रकै गुटगट विभाजनका कारण मुलुकलाई दिशाहीन बनाएका सन्दर्भमा जनताका प्रश्न आउने देखिएको छ ।
नेपाली कांग्रेसको इतिहास जति लामो छ, यसले मुलुकको राजनीतिक परिवर्तनका लागि जति निर्णायक भूमिका खेलेको छ, पार्टीभित्र गुटगत स्वार्थका कारण विश्वास गर्न नसक्ने जनआवाज आउनसक्छ । सम्भाव्य प्रश्न र जबाफका साथ जनताको घरमा जानुपर्ने समीक्षकहरुको धारणा छ । नेपाल समाचारपत्रबाट