जनताको मन कसरी जित्‍ने ?

| 2018 Dec 15 | 02:32 pm 2790

‘निमुखालाई न्याय र विपन्नलाई आय, विभेद र छुवाछुत अन्त्य समतामूलक समाजको गन्तव्य’, काँग्रेसको मूलमन्त्रमा हुनेपर्छ । लोकतान्त्रिक समाजवादको सार तत्व यही हो । देशमा आज पनि टाठाबाठा पहुँचवालाले मात्र न्याय पाएका छन् । निमुखा जनताको कतै सुनुवाई हुँदैन । देशको कुल जनसंख्याको करिब २३ प्रतिशत जनता गरिबीका रेखामुनी बाँचिरहेका छन् ।

तिनीहरुलाई लक्षित गरी विशेष कार्यक्रम र योजना लिएर काँग्रेस जनता माझ जानुपर्छ । गाउँघर, टोल, छिमेक, शहरबजार अथवा अड्डा अदालत सबै तिर निर्धा–निमुखा जनताको पक्षमा आवाज उठाउने, उनीहरुको पक्षमा बोल्ने र न्याय दिलाउने गर्नुपर्छ ।

गरिब दुःखीको आत्मसम्मानको रक्षामा ध्यान दिने, विपन्न जनताको आर्थिक अवस्था सुध्रिने खालका उद्यम व्यवसाय स्थापना गराई रोजगारी र आम्दानी सिर्जना गर्ने, व्यवसाय प्रवद्र्धनसँगै महिला युवा र प्रौढ समेतलाई व्यावसायिक तालिमको प्रबन्ध मिलाउने काम गर्नुपर्छ ।

हामी काँग्रेसलाई समाजवाद तर्फको सबै धानिक व्यवस्था अनुरुप अगाडि बढाउन स्रोत र साधनको पुनर्वितरण प्रणाली लागू गर्ने छौं । त्यस्तै मुलुकमा विद्यमान नीतिले प्रदान गर्दै आएको दुई किसिमको शिक्षा र स्वास्थ्य सुविधालाई क्रमशः एउटै दिशामा अगाडि बढाउने छौं । कृषकको हित नै काँग्रेसको हित हो भन्ने बीपी विचारलाई पार्टीको मूलमन्त्र बनाउने छौं ।

सरकार सबै तहका निकायलाई पारदर्शी, जवाफदेही र नागरिकप्रति जिम्मेवार बनाएर भ्रष्टाचारको अन्त्य गर्नेछौं । काँग्रेसका कार्यकर्तालाई नैतिकवान् र चरित्रवान् बनाउने पार्टी पाठशालाको व्यवस्था गरिनेछ । नैतिकवान्, सक्षम र चरित्रवान् काँग्रेस कार्यकर्ताले मात्र लोकतन्त्रप्रति न्याय गर्न सक्छ । निमुखाप्रति सेवाभावले समर्पित भएर राष्ट्र निर्माणमा लाग्ने प्रेरणा जाग्छ ।

लगानीकर्तालाई लगानीमैत्री प्रशासनिक तथा आर्थिक वातावरण निर्माणको सुनिश्चितता दिन सक्नुपर्दछ । जसले गर्दा आर्थिक क्षेत्रको उत्पादन बृद्धि होस् । बजारमा श्रमशक्तिको प्रवेश भइरहेको सन्दर्भमा उनीहरुको दक्षता र योग्यताको आधारमा रोजगारमूलक उद्योगधन्दाको विकास गर्नुपर्दछ । भने अर्कोतर्फ अदक्ष जनशक्तिलाई दक्ष बनाउन मुलुकभित्रै संस्थानहरुको निर्माण आवश्यक देखिन्छ । सामाजिक अन्तर्घुलनमार्फत भेदभाव र छुवाछुतको अन्त्य गर्ने प्रयास हुनुपर्छ ।

कम्युनिस्ट सरकारले आर्थिक वर्ष २०७५ । २०७६ को बजेट ल्याएको छ । दुई तिहाई नजिक पुगेको कम्युनिस्ट सरकारले ल्याएको बजेट आमगरिब र विपन्न जनताका लागि अभिशाप भएको छ । बजेट आम नेपालीका लागि निराशापूर्ण छ । बजेट घोषणाको स्वर सुक्न नपाउँदै बजारभाउ काआसियको छ । संविधानमा उल्लिखित आर्थिक समृद्धिका आधार सरकार, निजि क्षेत्र र सरहकारी सबैतिरबाट निराशा छ । उदारीरकण सम्बन्धीत संस्थाहरु हतोत्साहित भएका छन् ।

कर्मशील काँग्रेस

संगठनको विस्तार गर्न यसलाई सुदृढ, सबल बनाउन तथा प्रतिपक्षसँग सामाना गर्न कर्मशील काँग्रेस आजको आवश्यकता हो । विसंगतिहरु हटाएर समाजलाई उद्यमशील बनाउन र समाजमा चेताना जगाई नेपाली समाज र राष्ट्रको लोकतान्त्रीकरण गर्न पनि कर्मशील काँग्रेस आवश्यक छ । होटलहरुमा गफ दिएर बस्ने होइन ।

गाउँ, शहर, टोल, छिमेक र घर आँगनमा सम्पर्क स्थापित गर्ने, आफ्ना असल नीति, सिद्धान्त र उद्देश्य अनि कार्यक्रम जनतामा बोध गराउने मिलनसार, मृदुभाषी काँग्रेस आज देशले खाजेको छ । कुनै पनि उपकारी काममा हात बढाउने संकोच नमान्ने जाँगरिला काँग्रेस आजका आवश्यकता हुन् । स्कुलदेखि अस्पतालसम्म, खेलमैदानदेखि नाचगानसम्म, मर्दापर्दादेखि विहावारी र सभासमारोहसम्म जताततै फूर्तिलो र क्रियाशील काँग्रेस समयको माग हो ।

जनताका हर सुखदुखमा साथ दिने र सहानुभूतिशील काँग्रेस लोकतन्त्रको गहना हो । जनताको आय बढाउने र रोजगारीका अवसर दिलाउने खालको विविध कार्यक्रमहरुमा आफ्नो दिमाग खियाउने र आर्थिक सामाधान दिने कार्यमा कठिन परिश्रम गर्ने समाजसेवी काँग्रेस आजको आवश्यकता हो ।

नेपालमा काँग्रेस विरोधी जनमत नभएको होइन । यो कम्युनिस्टको आवरणमा पनि छ र अन्य दक्षिणपन्थी आवरणमा पनि छ । काँग्रेसले अब जनसमर्थन बढाएर कम्युनिस्ट भोट घटाउनुको विकल्प छैन । कम्युजिस्ट भोट घटाउने आम नागरिक अझ खासगरी विपन्न वर्ग र कृषकसँग काँग्रेस जोडिने उपायहरु खाजिनेछ । काँग्रेसको नीति निर्माणमा र राज्यको नीति निर्माणमा पनि विपन्न वर्ग र कृषकको संलग्नता गर्नुपर्ने छ ।

हामीले नेपालमा कम्युनिस्टहरु भित्र अन्तरद्वन्द्व चर्किएला, गल्ती गर्दै जालान्, उनीहरुबाट जनता रिसाएर टाढिएलान्, अनि फेरि धोका खानेछौं । त्यसैले अब हामीले कर्मशील काँग्रेस बनेर जनसमर्थन जुटाउन लाग्नुपर्छ । प्रतिपक्षभन्दा आफूले राम्रा काम गरेर सफल हुनुपर्छ ।

प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्ने अवसर अहिले काँग्रेसले पाएको छ । विगतमा भारतीय जनता पार्टीले लामो समय प्रतिपक्षमा बसेर भारत स्वतन्त्र गर्न नेतृत्व दिएको भारतीय काँग्रेसलाई निर्वाचनको माध्यामबाट पराजय गर्न सक्यो । त्यसको लागि पार्टीले मूलतः भ्रष्टाचार विरोधी आन्दोलनलाई राष्ट्रव्यापी बनायो, आफ्ना इमान्दार र जुझारु कार्यकर्ता जनतासँग जोडिएर भाजपाको नीति र कार्यक्रम मात्र अगाडि सारेन नयाँ भारतको खाका पनि दियो ।

अनि यो सबै कार्यको लागि भारतभरि स्थानीय भाषामा संवाद, छलफल र बहस गर्न सक्ने क्षेत्रीय नेता निर्माण गर्न तयारी गर्यो । आज भाजपा नेतृत्वको सरकारलाई नरेन्द्र मोदीले चलाइरहेका छन् भने यिनै तीन आयामबाट भाजपा अगाडि बढेको हो ।

तसर्थ काँग्रेसले वर्तमान कम्युनिस्ट सरकारको भ्रष्टाचारलाई नागरिक समाज, मिडिया र पार्टीका इमान्दार कार्यकर्ताबाट अगाडि ल्याउन सक्नुपर्छ ।

दोस्रो, सातै प्रदेशमा स्थानीय भाषामा समेत संवाद गर्नसक्ने प्रतिभावान युवालाई राजनीतिक तालिमको व्यवस्था गर्नुपर्छ र अन्तराष्ट्रियरुपमा कम्युनिस्ट सरकार बहुलवाद विरोधी नियन्त्रित शासन व्यवस्थामा जाने सोचमा छ भनी कन्भिन्स गराउने तर्फ पहल गर्नुपर्छ ।(रामचन्द्र पाैडेलद्वारा  लिखित पुस्तकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.