जनताको भरोसालाई टुट्न दिने छैन: श्रममन्त्री

रिपोर्ट नेपाल | 2022 Mar 06 | 08:01 am 1413

तनहुँ, फागुन २२ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन्।

नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए।

‘नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही नेकपा (एमाले)मा, कोही नेकपा (माओवादी केन्द्र)मा, कोही नेकपा (एकीकृत समाजवादी)मा आवद्ध छन्।  आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ।’ श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै उनले त्यहाँ भएका विकृति र विसङ्गति अन्त्य गर्ने अभियानमा लागिपरेको बताए।

‘जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्नेछु। मलाई यो गाउँबाट भोट आयो कि आएन भनेर हेरेको छैन, कसैलाई काखापाखा गरेको छैन, विकासमा सबैलाई समेट्ने प्रयास गरेको छु।’ कार्यक्रममा नेवाः देय दवुका नेताहरु शङ्करनारायण श्रेष्ठ, तारालाल मल्ल र ताराप्रसाद श्रेष्ठलगायतले नेवार समुदायमा एकताको भावना हुनुपर्नेमा जोड दिए।

शव ल्याउन श्रममन्त्रीको पहल

तनहुँको व्यास नगरपालिका–११ फराकचौरका ४२ वर्षीय प्रकाश अधिकारीको मलेसियामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि मलेसिया पुगेका उनको यही फागुन १७ गते मृत्यु भएको हो।

महाशिवरात्रिका दिन काम सकेर कोठामा पुगेका उनको हृदयघातबाट मृत्यु भएको बताइएको छ। अधिकारीको शव मलेसियाबाट स्वदेश ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चासो व्यक्त गरेका छन्। शनिबार मृतकको घरमै पुगेर उनले परिवारलाई सान्त्वना दिनुका साथै शव ल्याउने विषयमा पहल सुरु भइसकेको जानकारी दिए।

उनले भने, ‘राहत र क्षतिपूर्तिका लागि सकेसम्म छिटो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु।’ श्रम स्वीकृति गरेर विदेश गएको र विदेशमा मृत्यु भएको खण्डमा मन्त्रालयमातहतको वैदेशिक रोजगार बोर्डले घरसम्मै शव ल्याउने व्यवस्था गरिदिन्छ। यसका साथै क्षतिपूर्तिवापत रु सात लाख राहत दिने प्रावधान छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.