जनताको पार्टी बनाउँछु भन्दै ‘फरियावाद’को फेरोमा

| 2018 Oct 31 | 10:01 am 5607

– सीता केसी

नेपाली कांग्रेसको बहुप्रतीक्षित महासमितिको बैठक कुनै दुर्घटना नभएमा अबचाहिँ बस्ने नै भएको छ । विधानतः वर्षको एकपटक अनिवार्य बस्नुपर्ने महासमितिको बैठक १३औं महाधिवेशन सम्पन्न भएको झण्डै तीन वर्षमा बस्न लागेको हो ।

महासमिति नेपाली कांग्रेसको नीति निर्माण गर्ने उच्चस्तरीय तह हो । कांग्रेसको नेतृत्व चयन गर्ने अधिकार बाहेक कांग्रेसलाई कुन मार्गमा लैजाने भन्ने सर्वोत्कृष्ट निकाय पनि हो महासमिति । अधिकांश कांग्रेसका कार्यकर्ताहरू महासमिति बैठक हुने–नहुने कुरामा शंका गरिरहेका बेला नेतृत्वले मंसिरमा गर्ने संकेत दिएबाट थोरबहुत उत्साहित भएका छन् ।

१३औं महाधिवेशनबाट १८ सय २२ मत प्राप्त गरेर शेरबहादुर देउवा सभापतिमा निर्विचित भएपछि धेरै कांग्रेस कार्यकर्ताले डडेलधुराका ‘सर्वसाधारण जनताको छोरो’ भएकाले अब कांग्रेस सिष्टममा चल्छ भन्ने आशा गरेका थिए । २०७२ फागुन २० गतेदेखि भएको महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा सभापतिका लागि तीनजना उम्मेदवार बनेका कारण पहिलो चरणमा ११ मतको कमीले देउवा निर्वाचित हुन सकेका थिएनन् । दशौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग र १२औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित देउवा ११औँ महाधिवेशनमा भने पार्टी विभाजन भएका कारण नेपाली कांग्रेस (प्रजातान्त्रिक)बाट सभापति बनेका थिए ।

२०७२ को निर्वाचनमा देउवाले ‘नेपाली कांग्रेस परिवारवादको भयो म जनताको पार्टी बनाउँछु’ भन्दै मत मागेका थिए । त्यति मात्रै होइन कि उनले पार्टीको विधि–विधानअनुसार चलाउँछु भन्ने सपथ पनि प्रतिनिधिसामु खाएका थिए । ३ हजार १ सय ४८ महाधिवेशन प्रतिनिधि सहभागी महाधिवेशनको पहिलो चरणको निर्वाचनमा देउवाले १ हजार ५ सय ६४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेल १ हजार १ सय ६० मत ल्याएका थिए भने कृष्णप्रसाद सिटौलाले ३ सय २४ मत प्राप्त गरेका थिए ।

आफू वंशवादका विरुद्ध लडेको भन्ने देउवाले सभापति बनेपछि नेपालको लोकतान्त्रिक आन्दोलनमा कुनै भूमिका नभएकी पत्नी आरजुलाई अघि सार्ने काम गरेर पहिले आफूले बोलेका कुरालाई आफै खण्डित गरे ।

नेपाली कांग्रेसको विधानअनुसार पहिलो चरणमा ५१ प्रतिशत मत नआएपछि दास्रो चरणमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भएको थियो । दास्रो चरणको निर्वाचनमा प्रभावशाली नेता खुमबहादुर खड्कादेखि कृष्ण सिटौलासम्मले समर्थन र सहयोग गरेकै कारण देउवाले १ हजार ८ सय २२ मत प्राप्त गरी सभापतिमा विजयी भएका थिए । विजयी हुनुअघि नेतृत्वले महासमिति बैठकमा नराखेको, विभाग गठन गर्दा समयमा नगरेको र आफ्ना मान्छे मात्रै राखेको आरोप उनले लगाएका थिए । महाधिवेशन सम्पन्न भएपछि देउवाले खोला तरेर लौरो विर्सिएको आरोप लाग्दै आएको छ ।

आफू वंशवादका विरुद्ध लडेको भन्ने देउवाले सभापति बनेपछि नेपालको लोकतान्त्रिक आन्दोलनमा कुनै भूमिका नभएकी पत्नी आरजुलाई अघि सार्ने काम गरेर पहिले आफूले बोलेका कुरालाई आफै खण्डित गरे । समयमा महासमिति बैठक र विभाग गठन नगरेको आरोपलाई आफैंले अहिलेसम्म गर्न नसकेर आफू पहिले–पहिलेका सभापति भन्दा पनि पूर्वाग्रही र असक्षम भएको प्रमाणित गरे ।

गिरिजाप्रसाद कोइरालामाथि सुजातालाई जबर्जस्ती हाबी गराइएको आरोप लगाइएको थियो । एकछिनलाई गणेश प्रवृत्ति कार्यलाई बाहिर राखेर भगवानलाई साक्षी राखेर भनौँ नेपालको अधिकार प्राप्तिका लडाँइमा आरजुको भन्दा सुजताको योगदान थियो वा थिएन भनेर यी तमाम कुरालाई छाडेर हुन लागेको महासमिति बैठकमा सदस्यहरूले पछिल्लो समय राज्यको संरचनाअनुसार हुन नसकेको संगठन निर्माणलाई ज्यादै महत्व दिनुपर्ने हुन्छ । हेटौंडामा भएको सभापतिहरूको भेलामा जस्तै नेतृत्वलाई ललकार्ने अनि झोलाझिम्टी टिपेर जिल्ला हिँड्ने प्रवृत्तिको यो महासमिति हुनहँुदैन । अहिले स्थानीय तहलाई बलियो बनाइएको छ भने कांग्रेसको विधान पनि अब केन्द्रमुखी नभएर विकेन्द्रीकृत हुनुपर्छ । यो महासमिति बैठकमा सदस्यहरूले संसदभित्र रहेका दलसँग राख्ने सम्बन्ध भन्ने विषय पनि प्रष्ट रुपमा उठाएर दस्तावेज नै बनाउनु पर्छ ।

स्थानीय, प्रदेश र संघीय निवार्चनको समीक्षा गुटबन्दीकै कारण नराम्रो गरी पराजित भएको निष्कर्ष निकालेको नेपाली कांग्रेसले त्यसपछि थप गुटबन्दी बढेको छ । गुटबन्दीले पार्टीलाई घाटा र्गयो भन्ने जान्दाजान्दै पनि गुटबन्दी लागिरहेका नेताको मानसपटलबाट पनि यस महासमितिमा गुटको भूत निकाल्न जरुरी छ ।

सत्ता बाहिर हुँदा जननायक विपीका सपनाका कुरा गर्ने नेतृत्वले पछिल्लो पटक सरकारमा हुँदा विपीका सपना पूरा भए कि आफ्नै घरकी ‘वीवी’का चाहना साकार गरिए, त्यसको पनि समीक्षा गर्न जरुरी छ ।

पार्टी सभापति समेत रहेका देउवाले यसमा विशेष पहल गर्नुपर्छ र अन्यले पनि उनलाई सहयोग गर्नुपर्छ । रामचन्द्र गुट, शशांकको कोइरालाको विरासत फर्काउने गुट, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, प्रकाशमानलगायतका गुटको चक्करमा अझै फस्दै गए कांग्रेसमा भिरमा लडेको गाई हुने निश्चित छ । उसलाई राम–राम भन्न बाहेक नेपाली जनतासँग विकल्प हुने छैन । त्यसकारण यही महासमिति बैठकबाट सबै गुटका टाउकेहरूले गुट अन्त्य गर्दै फुटको राजनीतिलाई सदाका लागि विदाइ गर्न जरुरी छ ।

नेपाली कांग्रेसले तीनै तहको निर्वाचनमा पराजय भोग्नुका पछाडि टिकट वितरण प्रणालीको पनि समीक्षा गर्नुपर्छ । वर्षौंदेखि पार्टी र प्रजातन्त्रका लागि जेलको छिँडीमा आफ्नो जवानी समाप्त परेका अग्रजहरूलाई कति सम्मान गरियो त्यसको खोजिनीति पनि महासमितिले गर्नुपर्छ । सत्ता बाहिर हुँदा जननायक विपीका सपनाका कुरा गर्ने नेतृत्वले पछिल्लो पटक सरकारमा हुँदा विपीका सपना पूरा भए कि आफ्नै घरकी ‘वीवी’का चाहना साकार गरिए, त्यसको पनि समीक्षा गर्न जरुरी छ ।

नेतृत्वले आफूले गरेका गल्तीलाई आत्मसमीक्षा गरेर अगाडि बढ्ने हो भने मुलुकको लोकतन्त्रमाथि कसैले धावा बोल्न सक्दैन । यो महासमिति बैठकमा कांग्रेसले आफूलाई परिमार्जन नगरी थपडी मारेर समाप्त गर्यो भने नेपाली राजनीतिक आकाशमा काला बादलहरू मडारिरहेका छन्, त्यसको परिणाम राम्रो नहुने कुरामा कुनै शंका छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.