जनताको घरदैलोमा कर्मचारी पुग्नुपर्छः प्रधानमन्त्री देउवा

रिपोर्ट नेपाल | 2021 Dec 29 | 10:47 am 2509

काठमाडौँ, पुस १४ः प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको घरदैलोमा सरकार पुग्न कर्मचारी नै घरदैलोमा पुग्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय पदाधिकारीसँग हिजाे मङ्गलबार भएको भेटमा उनले सरकारका कार्यक्रम जनताको घरदैलोमा पु-याउने काम कर्मचारीले गर्ने भएकाले कर्मचारी सक्रिय हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले सरकारद्वारा उपलब्ध हुने सेवा तथा सुविधालाई उचित समयमा आमनागरिकलाई प्रवाह गर्न निजामती कर्मचारीलाई निर्देशन दिए । सङ्घीय निजामती ऐन ल्याउनुअघि सरोकारवाला सबैसँग छलफल गरेर मात्र ल्याइने विश्वास उनले दिलाए।
ऐनका बारेमा कानुनमन्त्रीसँग थप छलफल गरेर मात्र अघि बढ्ने आश्वासन प्रधानमन्त्री देउवाले दिएकाे युनियनका अध्यक्ष गोपाल पोखरेलले बताए ।

अध्यादेशमार्फत ल्याउन लागिएको निजामती सेवा ऐनमा कसैलाई काखा र कसैलाई पाखा नगरिने, सबै कर्मचारीको मागलाई सम्बोधन गरिने प्रधानमन्त्रीले बताएको जानकारी अध्यक्ष पोखरेलले दिए । सो अवसरमा प्रधानमन्त्री देउवासमक्ष युनियनका पदाधिकारीले कर्मचारी वृत्ति विकास, कर्मचारी समायोजन, कर्मचारीको श्रेणी निर्धारण तहमा एक रूपता, पूर्व अनुमानयोग्य सरुवा प्रणालीलगायतका माग सङ्घीय निजामती सेवा ऐनमा समेटिनुपर्ने माग राखेका छन् । अध्यक्ष पोखरेलले भने, “हामीले प्रधानमन्त्रीसमक्ष अध्यादेशबाट आउन थालेको ऐनमा सीमित व्यक्तिको मात्र स्वार्थ पूरा हुनेभन्दा पनि आम कर्मचारीको उच्च मनोबल बढ्ने गरी नयाँ व्यवस्था गरिनुपर्छ भन्ने माग राख्यौँ । हाम्रा मागबारे प्रधानमन्त्री ज्यादै सकारात्मक हुनुभएको छ ।”

युनियनले लामो समयदेखि नायब सुब्बाको पदोन्नतिमा १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था र कर्मचारीको सरुवा प्रणालीलाई पूर्वानुमानयोग्य चक्रीय प्रणालीको व्यवस्था गरे मात्र सरुवा प्रणाली व्यवस्थित हुने माग युनियनले राख्दै आएको जानकारी अध्यक्ष पोखरेलले दिए । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पार्टी सभापति देउवालाई युनियनका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.