काठमाडौं, साउन १५ : समाजमा शान्ति सुरक्षालार्इ कायम गर्ने र प्रहरी र स्थानीयबीचको सम्बन्ध सुधार गर्न बानेश्वरको प्रहरी जनताको घरघरमा पुगेर भेटघाट गरिरहेको छ।
महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरको त्रैमासीक कार्ययोजना अनुसार “टोल टोलमा प्रहरी अभियान” अन्तर्गत मंगलबार काठमाडौं-१० को टोल नं.-३ सानोगौचरणमा पुगेको छ।
शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी र प्रशासन अन्तर्गत ”गस्ती तथा बस्ती भेटघाट” कार्यक्रम गरेको प्रहरी नायब उपरीक्षक गोविन्द राज काफ्लेले जनाएका छन्। उनले भने, ‘समाजमा हुने विकृति हटाएर शान्ति सुरक्षा व्यवस्थापन गर्नु हाम्रो मुल जिम्मेवारी भएकोले त्यसका लागि स्थानीयसँग हातेमालो गरी अघि बढ्न प्रतिबद्ध छौं। त्यसकारण हामीले स्थानीयसँग प्रत्यक्ष रुपमा समबन्ध स्थापित गर्न यो अभियान थालेका हौं।’
समाजमा हुनसक्ने घटनाका बारेमा सूचना दिनसमेत स्थानीयलार्इ प्रहरीले आग्रह गरेका छन्।
कार्यक्रममा काठमाडौं महानगरपालिका- १० का वडाध्यक्ष राम कुमार केसी, टोलसुधार समितिका अध्यक्ष दुर्गानाथ शर्मा, विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थी, टोलवासी तथा बुद्धीजिबीहरु लगायत करिब २०० जनाको सहभागिता थियो।