जनताको आय बढाएर मात्रै कर लिने वालिङका मेयरको प्रतिबद्धता

रिपोर्ट नेपाल | 2018 Aug 19 | 04:59 pm 1890

स्याङजा, भदौ, ३ : सरकार र स्थानीय निकायहरूले कर बढाएकोप्रति सर्वत्र विरोध भइरहेको छ । स्थानीय तहहरूले स्वायत्तताको नाममा कर बढाउँदा सरकार निकै आलोचित बन्न पुगेको छ । प्रदेशहरूले पनि आफ्नो भागमा पर्ने कर उठाउन आवश्यक तयारी गरिरहेका छन् ।

तर स्याङजा, वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले भने जनताको आय बढाएर मात्रै कर लिने घोषणा गरेका छन् । जनता धनी नभएसम्म थप कर असुल्नु न्यायसँगत नहुने भन्दै उनले यस्तो घोषणा गरेका हुन् ।

नगरभित्र विकास राम्रो भयो भने जनता खुसी भएर आफै कर तिर्न अग्रसर हुने उनको विश्वास छ । वालिङ नगरपालिका स्मार्ट सिटी हुने भन्दै मेयर खाँडले नगरको विकासको लागि सर्वप्रथम सुशासनसम्बन्धी कानुन बनाउने, लगानीको सुरक्षाको प्रत्याभूतिसहित आकर्षित गर्ने, उत्पादन तथा बजारमा स्थानीय सहभागिता बढाउने बताएका छन् ।

जनतालाई सहज सेवा दिन नगरपालिकाले इन्टरनेट प्रविधिमार्फत नगरवासीले वडामै समेत नपुगी धेरै सेवाहरू घरबाट लिन सक्ने व्यवस्था सुरु गरिएको उनले बताए । उनले भने,’नगरपालिकालाई तिर्नुपर्ने कर, नगरपालिका वा वडा कार्यालयबाट जनताले गर्नुपर्ने कुनै पनि कामका लागि अब कार्यालय धाउनुपर्ने छैन ।’  नगरपालिकाले इनोभेसन सेन्टर पनि स्थापना गरेका छन् । यस सेन्टरले नगरपालिकालाई प्रविधि मैत्री र स्मार्ट बनाउने  मेयर खाँडको प्रतिबद्धता छ ।

सेन्टरमार्फत नगरपालिकाको क्षेत्र भित्रको पिउने पानीको शुद्धता मापन गर्ने, सडक तथा सरकारी कार्यालयमा सेन्सर जडित बत्तीको काम भइरहेको छ, छैन ? भनेर अनुगमन गर्ने पनि बताए । उनले भने,’इनोभेसन सेन्टरका लागि नगरपालिकाले भारतबाट उपकरणसमेत मगाएको छ । नगरपालिकाभित्र रहेका स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थी र विज्ञान शिक्षकलाई यो प्रविधि सिकाउने काम भइरहेको छ । वालिङ नगरपालिकाले पाँच वटा औद्योगिक क्षेत्र तयार गर्नुका साथै नगरभित्र उद्योग स्थापना गर्न चाहनेहरूलाई नगरपालिकाले सस्तो मूल्यमा जग्गा उपलब्ध गराउने घोषणा पनि गरेको छ ।’

नगरपालिकाले ‘वान कलर वान प्रोडक्ट’ अन्तर्गत एउटा गाउँमा एउटै कलर लगाएर एउटा गाउँबाट एउटै वस्तु उत्पादन गर्ने अवधारणा अधि बढाएको समेत बताए ।  केन्द्र र प्रदेशले कर बढाए त्यसमा नगरपालिकाले अनुदान दिएर भए पनि बढी कर नगरवासीलाई नतिराउने नीति वालिङ नगरपालिकाले लिएको  बताए । केन्द्रले धेरै अनुदान दिँदा स्थानीय तह धेरै परनिर्भर हुने भएकाले सकेसम्म स्थानीय साधन स्रोत जुटाएरै नगरपालिकाको विकास गर्ने सोच खाँडले अघि सारेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.