जताततै फालिएको मास्कले संक्रमण हुने खतरा

रिपोर्ट नेपाल | 2020 Aug 09 | 08:44 am 2621

ललितपुर, साउन २५ः कोरोना भाइरसको जोखिम दिनदिनै बढिरहँदा उपत्यकामा मास्क लगाउनेको संख्या थपिँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने बानी पनि समाजमा विकसित भएको छ । कसैले फोहरको डंगुरमा मास्क फाल्छन्, कसैले सडकपेटी र गल्लीमा फाल्ने गरेका छन् । यसरी फालिएको मास्कले संक्रमणको खतरा हुन सक्ने विज्ञहरू बताउँछन् ।

संक्रमणबाट जोगिन उपत्यकावासीले एन ९५, केएन ९५, सर्जिकल मास्क र कपडाको मास्क प्रयोग गरिरहेका छन् । यद्यपि सर्जिकल मास्क बढी प्रयोग हुने गरेको छ । प्रयोग गरिएका मास्क सडक, गल्लीलगायतका स्थानमा फालिएको अवस्थामा भेटिने गरेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् ।

फोहरको डुंगुरमा मास्क पनि आइरहेका छन् । घर र कार्यालयबाट निस्कने फोहरमा मास्क भेटिएको छ, उनले भने, दैनिक कति मास्क फोहरका रूपमा आउँछ भन्ने लेखाजोखा छैन ।

काठमाडौं महानगरपालिकाको १५ नम्बर वडाका कुचीकार नाइके योगेश केसीका अनुसार पछिल्लो समय फोहरमा धेरै मास्क भेटिन थालेको छ । यो वडामा दैनिक ५० वटा जति यत्तिकै बाटोमा फालिएका मास्क भेटिने गरेको छ । उनले भने, यति संक्रमितले लगाएर फालेको मास्क रहेछ भने त्यसले फोहर संकलन गर्नेलाई पनि संक्रमणको जोखिम हुन सक्छ । बाटामा मास्क देखियो भने नटिप्ने भन्ने हुँदैन ।

वातावरण विभाग प्रमुख श्रेष्ठका अनुसार मास्क डिस्पोज गर्ने तरिका कमैले मात्र लागू गरेका छन् । फोहरका रूपमा जथाभावी मास्क फाल्दा यसले संक्रमणको खतरा निम्ताएको छ ।

विश्व स्वास्थ्य संगठनको सिद्धान्तअनुसार सर्जिकल मास्क एक पटक प्रयोग गरेपछि फेरि अर्को पटक प्रयोग गर्न मिल्दैन । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले सर्जिकल मास्क एक पटक लगाएपछि ६–७ घण्टाभन्दा लगाउन नहुने बताउँछन् । उनले भने, सम्भव भएसम्म २–३ पटकसम्म लगाउने गरिएको छ । धोएर भने लगाउनुहुँदैन ।

कोरोना भाइरसको औषधि र खोप नबनेको अवस्थामा भाइरस शरीरमा पस्न नदिन मास्क लगाउनु नै उत्तम विकल्प रहेको चिकित्सकको भनाइ छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.