कञ्चनपुर, असोज १ : कञ्चनपुरमा जङ्गली हात्तीले आतंक मच्चाउन थालेपछि हात्ती नियन्त्रणका लागि भरपर्दो कदम चाल्नुपर्नेमा प्रदेशसभा सदस्यले जोड दिएका छन् ।
खुला सिमाना नजिक भएका कारण भारतीय दुधुवा नेशनल पार्कबाट दुई साताअघि आएको हात्तीको ठूलो झुण्डले स्थानीय किसानले लगाएका धान, मकै र उखु बालीमा ठूलो मात्रामा क्षती पुर्याएको थियो ।
हात्तीले शुक्लाफाँटा नगरपालिका वडा नं ३, ४, ५ र १२ तथा बेदकोट नगरपालिका वडा नं ८ र १० मा गरेको क्षतीको स्थलगत अवलोकन गरी फर्किएका प्रदेशसभा सदस्य लालबहादुर खड्काले आज सोमबार प्रदेशसभा बैठकमा किसानले लगाएको बालीनाली जोगाउन र जीउधनको सुरक्षार्थ तत्काल हात्ती नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रश्ताव राखे ।
किसानको बाली पाक्दा र भित्र्याउँदासम्मका लागि अल्पकालीन र त्यसपछि हात्ती नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउनु पर्ने खड्काले बताए ।
भारतको दुधुवा नेशनल पार्कबाट ५५ वटा हात्तीको समुह यहाँ प्रवेश गरेको थियो । हालसम्म बेदकोट र शुक्लाफाँटामा गरी हात्तीको समुहले १० लाखभन्दा बढीको बालीनालीमा नोक्सानी पुर्याइ सकेको छ ।