जग्‍गाधनीलाई थाहै नदिई मालपोत कर्मचारीले बेचिदिए १० करोड जग्गा

| 2018 Sep 07 | 06:58 am 2213

काठमाडौं, भदौ २२: लालपुर्जा साथमै भएपछि आफ्नो घरजग्गा सुरक्षित रहेको ठान्नै प-यो । तर, अब भने प्रश्न पैदा भएको छ। लालपुर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ। यस्तै भएको छ चन्दनकृष्ण कायस्थला । बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनैलाई पत्तो नदिई बेचिदिएका छन्। नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भएको हो।

मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको खुलेको हो। प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुनील मल्लका अनुसार किर्ते कागजपत्र बनाई जग्गा बेच्ने प्रदीपकुमार गौतम तथा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई पक्राउ परेका हुन्। प्रहरीका अनुसार भूमाफियाको एक समूहले मालपोत र नापी कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर सो जग्गा बिक्रीको योजना बनाएका  खबर नयाँ पत्रिका दैनिकमा छ।

योजनाअनुसार नै मालपोत कार्यालयमा राखिने जग्गाधनीको स्रेस्तामा कायस्थको फोटो उप्काएर गौतमको फोटो टाँसियो। कायस्थकै नाममा नक्कली नागरिकता र लालपुर्जा तयार भयो र जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको थियो। मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी उनीहरूले जग्गा पास गराएका थिए।

जग्गा बिक्री भएलगत्तै सूचना पाएका कायस्थ मालपोत पुगे। मालपोतका कर्मचारीले घटना मिलाउन उनलाई आग्रह गरे । त्यसपछि उनले कर्मचारीको नियत पत्तो पाइहाले। ‘कर्मचारीको संलग्नताको विषयमा अनुसन्धान भइरहेको छ,’ डिएसपी मल्ल भन्छन्, ‘यसमा ठूलै गिरोह छ जस्तो देखिन्छ, अनुसन्धान गरिरहेका छौँ।’

सरकारी रेकर्डबाट जग्गाधनीको स्रेस्ताबाट फोटो नै हेरफेर गर्नुबाटै यसमा कर्मचारीको मिलेमतो प्रस्ट हुने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्। नक्कली लालपुर्जा र नागरिकता परीक्षण नै नगरी मालपोत कर्मचारीले जग्गा पास गरिदिएका थिए।

विगतमा पनि भूमाफियाको समूहले यसरी महँगा जग्गा मालपोत कर्मचारीसँगको मिलेमतोमा बिक्री गरेको र पटक–पटक कर्मचारीहरू पक्राउ परेका छन्। यस्तो कारोबारमा करोडौँको चलखेल हुने भएकाले कर्मचारीहरू सजिलै बिक्ने गर्छन्।

७० करोडको कम्पनी बेच्ने दुई उपसचिव फरार

भारतीय व्यवसायी रामनिरञ्जन जटियाको ७० करोड रुपैयाँ सम्पत्ति भएको कम्पनी उनलाई थाहै नदिई बिक्री गर्ने कम्पनी रजिस्ट्रार कार्यालयका दुई कर्मचारी फरार भएका छन् । प्रहरीले अनुसन्धान सुरु गरेलगत्तै गंगाधर पौडेल र धर्मराज रोकाय फरार भएका हुन्।

उनीहरूले नक्कली कागजपत्रका आधारमा जटियाको शंकर इलेक्ट्रोनिक्स कम्पनीको सेयर जितबहादुर मगरको नाममा नामसारी गरिदिएका थिए। कम्पनीको विशेष साधारणसभामार्फत जटियाको कम्पनीको सेयर आफूले किनेको कागजपत्र पेस गरे। कम्पनीमा एक मात्र सञ्चालक राख्ने भएको नक्कली निर्णयको पत्रसमेत पेस गरे। त्यसपछि जग्गा बिक्री प्रक्रिया अघि बढेको हो।

कम्पनी आफ्नो नाममा ल्याई जग्गा बिक्रीको प्रक्रिया अघि बढाउँदा जटियाले थाहा पाएपछि जितबहादुर फरार भएका थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा कर्मचारीकै मिलेमतो खुलेको हो। कम्पनी रजिस्ट्रार कार्यालयका दुई अधिकृतसहित चारजना पक्राउ परिसकेका छन्।

सिआइबीका एसपी सानुराम भट्टराईका अनुसार जितबहादुर जटियाकै पूर्वकर्मचारी हुन्। आफू विदेशमा भएका वेला घरको गहना चोरी गरेको आरोपमा उनलाई केही महिनाअघि हटाएका थिए । तर, उनको कम्पनीका कतिपय कागजपत्र मगरसँगै थियो।

सो कुरा थाहा पाएपछि उनका साथीहरू राजन लम्साल र नीरज मानन्धरले नक्कली कागजपत्र बनाएर जग्गा बिक्री गर्ने योजना सुनाएका थिए। सोहीअनुसार जितबहादुरले कानुन व्यवसायी पुण्यप्रसाद खरेलसँग छलफल गरेर उनीमार्फत नै कम्पनी रजिस्ट्रारको कार्यालयमा सेटिङ मिलाई प्रक्रिया अघि बढाएका थिए।

योजनाअनुसार २९ र ३२ असारमा कम्पनी रजिस्ट्रारको कार्यालयबाट जटियाको कम्पनी जितबहादुरकोे नाममा दर्ता भएको थियो। जटिया सामान्य सञ्चालक मात्र भए। कम्पनीको नाममा सतुंगलमा १५ रोपनी जग्गा छ। सो जग्गा बेच्न उनले जापानमा व्यवसाय गर्ने प्रेमसागर सापकोटासँग प्रतिआना १० लाख २५ हजारका दरले डिल पनि गरे। दुई करोड रुपैयाँ बैनासमेत लिइसकेका थिए।

जटियाको बालुवाटरको तीन रोपनी जग्गामध्ये १४ आना एक पैसा तीन दाम जग्गा प्रतिआना २५ लाख रुपैयाँका दरले बेच्नका लागि राजभाइ श्रेष्ठसँग एक करोड बैना लिए। आफ्नो जग्गा नापजाँच भएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । जग्गा किन्न खोज्ने सापकोटा र श्रेष्ठ पनि प्रकरणमा ठगिएका छन्।

प्रहरीले सो प्रकरणमा अधिवक्ता पुण्यप्रसाद खरेललाई समेत पक्राउ गरेको छ । जसको मुख्य योजनाकार जितबहादुर तथा साथीहरू राजन र नीरज भएको एसपी भट्टराईले बताए। उनीहरूलाई सहयोग गर्ने राजकुमार तामाङ, चिरीबाबु महर्जन, हिमाल महर्जन र अमृत थापामगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक लगानी रहेको कम्पनीको सेयर हस्तान्तरण उद्योग विभागको सहमतिमा मात्र हुने प्रावधान छ । उद्योग विभागको सहमतिविना नै कर्मचारीले कम्पनी नामसारी गरेपछि मिलेमतो प्रस्ट भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्।

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले ठगी, चोरी, साइबर क्राइम र संगठित अपराध मुद्दामा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा फाइल पेस गरेको छ। पक्राउ परेका कम्पनी रजिस्ट्रार कार्यालयको आइटी शाखाका दुई कर्मचारीले भने आफूहरूलाई त्यस विषयमा कुनै जानकारी नभएको र फसाइएको गुनासो गरेका छन्।

नक्कली कागजपत्रका आधारमा कम्पनीको नामसारी हुन थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसमा कडाइ थालेको छ। उद्योगमन्त्री मातृकाप्रसाद यादवले सम्बन्धित धनीको उपस्थितिविना सेयर हस्तान्तरणको निर्णय नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशन दिएको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.