धनुषा, मंसिर १६ः जग्गा विवादलाई लिएर धनुषामा दुई छिमेकीबीच झगडा भइ कुटपीट हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका– ४ बस्ने अन्दाजी ५३ वर्षीय प्रभु यादव रहेका छन् ।
मृतककी श्रीमती महाजनी यादव, जेठो छोरा जगरनाथ यादव, माइलो छोरा सन्तोष यादव र कान्छा छोरा अकोश यादव घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार जनकपुरको प्रदेशिक अस्पतालमा भइरहेको छ । घाइतेमध्ये सन्तोष यादवको अवस्था चिन्ताजनक रहेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
घाइते अशोक यादवका अनुसार बिहीबार राति ८ बजेको समयमा खाना खाएर घरको बरन्डामा आगो तापिरहेको वेला स्थानीय सुरज यादवले १०–१२ जनाको समूहमा घरेलु हतियारसहित आएर आक्रमण गरेका थिए । प्रभु यादवको घटनास्थलमै मृत्यु भएको छोरा सुरजले बताएका छन् ।