छोरीको हत्यापछि आत्महत्या

रिपोर्ट नेपाल | 2019 Sep 23 | 05:58 pm 1953

कैलाली, असोज ६ : कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गए राति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् ।

नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

सुतेको कोठामा राति असामान्य आवाज सुनिएपछि ढोका खोली हेर्दा बेहोस् अवस्थामा फेला परेका कलेललाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

गएको जेठ महिनामा कलेलकी श्रीमती सरिताले आफ्नै पसलमा आत्महत्या गरेकी थिइन् । श्रीमतीको आत्महत्याको घटनालाई लिएर माइती पक्षले दिएको आत्महत्या दुरुत्साहनको मुद्दापछि पक्राउ परी पूर्पक्षका लागि कारागार चलान गरिएका कलेललाई जिल्ला अदालतले साउन २२ गते निर्दोष रहेको फैसला सुनाएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच कैलालीको भजनी नगरपालिका—७ भुरुवा गाउँका ५३ वर्षीय डल्लु डगौरा नजिकैको मोहना नदीमा आज डुबेर बेपत्ता भएका छन् । भंँसी चराउन गएका बेला यो घटना भएको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.