छानबिन समतिले अनुसन्धान थाल्यो, प्रहरीमाथि पनि छानबिन हुने

| 2018 Aug 25 | 10:04 am 2398

कञ्चनपुर, भदौ ९ : निर्मला पन्तकाे बलात्कारपछि हत्या प्रकरणबारे छानबिन गर्न केन्द्र सरकारद्वारा गठन गरी पठाइएकाे समतिले शुक्रबारबाटै घटनाकाे छानबिन सुरू गरेकाे छ ।

केन्द्रबाट खटिएकाे गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वकाे छानबिन समितिकाे टाेली दिउँसो २ बजे महेन्द्रनगर आइपुगेकाे थियाे । टाेलीले लगत्तै सरूवामा परेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिअाे) कुमार खड्काकाे बिदाइ गर्नुअघि उनीसँग एक घण्टाजति कुराकानी गरेकाे थियाे । त्यसपछि टाेलीले नयाँ सिडिआको पदभार ग्रहण गरेका तारानाथ अधिकारीसँग पनि छलफल गर्यो ।

सुरक्षा निकायका अधिकारीसँग समेत छलफल गरेर छानबिन टाेलीले अपराह्न चार बजेतिर स्थानीय पत्रकारहरूकाे भेला बाेलाएकाे थियाे । पत्रकारसँग कुरा गर्दै टोलीका संयोजक मैनालीले घटनाकाे पुनः शून्यबाट अनुसन्धान गरिने बताएका थिए । उनले यसअघि अनुसन्धानमा खटिएका तर चित्तबुझ्दाे जवाफ दिन नसकेका प्रहरी अधिकारीमाथि पनि छानबिन हुने जानकारी दिँए ।

‘हामी पहिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीमाथि पनि छानबिनका थाल्छौं,’ सहसचिव एवं संयाेजक मैनालीले भने, ‘पुराना केही दस्ताबेज नहेरीकन हामीले शून्यबाट अनुसन्धान अगाडि बढाउँछाैँ ।’ उनले सबै घटनाकाे सुरूदेखि नै छानबिन हुने र त्याे निष्पक्ष हुने अास्वासन दिएका छन् । दोषीलार्इ पत्ता लगाएरै छाेड्ने र निर्दाष काेही पनि नफस्ने उनकाे भनाइ थियाे ।

१५ दिनको समय लिएर यहाँ आएको टाेलीले छानबिनमा सहयोग गर्न र संयम अपनाउन समेत अाग्रह गरेकाे छ । यहाँका राजनीतिक दल र नागरिक समाजसँग छलफल पनि टाेलीले जारी राखेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.